कैलालीमा शीतलहरः ज्येष्ठ नागरिकलाई निःशुल्क दाउरा वितरण

दाउरा
फाईल तस्बिर

कैलालीमा शीतलहर बढ्न थालेपछि टीकापुर–७ स्थित सत्ती कर्णाली सामुदायिक वनले ज्येष्ठ नागरिकलाई निःशुल्क दाउरा वितरण गर्न शुरुआत गरेको छ ।

सामुदायिक वन समितिले सोमबारबाट ७५ वर्षदेखि माथिका ११२ घरपरिवारका ज्येष्ठ नागरिकलाई दाउरा वितरण गर्न लागको हो । प्रतिव्यक्ति दुई क्वीन्टलका दरले दाउरा उपलब्ध गराउन लागेको छ ।

शीतलहरमा ज्येष्ठ नागरिकलाई सहज होस् भनेर दाउरा वितरण गरेको वनका अध्यक्ष धनसिंह साउदले बताए । ‘‘७५ वर्षदेखि माथिका ज्येष्ठ सदस्यहरुको सम्मान पनि हुने र चिसोबाट बचाउन घरपरिवारलाई पनि सजिलो हुने भएकाले निशुल्क दाउरा वितरण गर्ने कार्यक्रम ल्याएका हौँ’’, उनले भने, ‘‘अघिल्लो वर्ष चोकचोकमा दाउरा वितरण गरेका थियौँ र यस वर्ष पनि चोकचोकमा दाउरा उपलब्ध गराउदैछौँ । साथै ज्येष्ठ नागरिकको घरमै दाउरा पु¥याउन थालेका छौँ ।’’

दाउरा घरमै पाएपछि ज्येष्ठ नागरिक खुशी भएका छन् । ज्येष्ठ नागरिक गम्भीर सिंहले सामुदायिक वनले समस्या बुझेको बताए । ‘‘चिसो बढेको छ । यो समयमा वनले घरमै दाउरा ल्याइदियो’’, उनले भने, ‘‘अब आगो तापेर बस्न पाइने भयो ।’’

एक हजार ४०० उपभोक्ता रहेको सो सामुदायिक वनले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । विसं २०४८ मा स्थानीयले संरक्षण शुरु गरेपछि सामुदायिक वन विसं २०५१ मा दर्ता भएको हो । सत्ती वन ३०० हेक्टर क्षेत्रफलमा फैलिएको छ । हाल सत्ती वनसँग जोडिएका अन्य तीन वटा प्रस्तावित वन पनि संरक्षण गर्न नसकेर समायोजन भएका छन् ।

सामुदायिक वनले वर्षेनी एक हजार २०० क्वीनटल बेत उत्पादन गर्छ । यसरी उत्पादन गरेको बेत बिक्रीबाट आएको रकमले सामुदायिक वनले सामाजिक कार्य गर्दै आएको छ । सामुदायिक वनको १४५ हेक्टरमा बेत वन रहेको छ । सामुदायिक वन कर्णाली नदीको बगरलाई संरक्षण गरेर निर्माण गरिएको हो ।

वनले विगतमा एम्बुलेन्स, उपभोक्ताको कृषि प्रयोगका लागि दुई वटा ट्र्याक्टर खरिद गरेको थियो । यसबाहेक वनले उच्च मावि सञ्चालन, सामुदायिक सहकारी संस्था र उपभोक्ताका छोराछोरीलाई छात्रवृत्तिको व्यवस्था पनि गरेको छ । त्यसक्षेत्रका नागरिकलाई एम्बुलेन्स सेवा पाउन कठिन भएपछि वनले पुनः एम्बुलेन्स सेवा शुरु गरेको छ ।

यसैगरी गृहणीलाई पैचो बाख्रा कार्यक्रम पनि वनले सञ्चालन गरेको छ । बेतकै आम्दानीले वनमा वनभोजस्थल निर्माण गरेको छ भने पर्यटकलाई डुङ्गा शयरका लागि पोखरी निर्माण गरेको छ । ‘‘वेत वन भनेर चिनिने सत्ती कर्णाली सामुदायिक वनले विगतमा थुप्रै सामाजिक काम गरेको छ, वगर र उजाड भइसकेको वनलाई स्थानीयले संरक्षण गरेर हराभरा बनाएका हुन्’’, वन समितिका पूर्वसचिव शेरबहादुर साउदले भने, ‘‘अप्ठ्यारोका सारथीका रुपमा यहाँ वन स्थापित भएको छ ।’’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार