नयाँ भेरियन्टको कोरोनाबाट अहिलेसम्म १० सुरक्षाकर्मीले गुमाए ज्यान, १ लाखले लगाए खोप

अग्रपंक्तिमा खटिएर काम गर्ने सुरक्षाकर्मी पनि संक्रमित

सुरक्षा निकायमा नयाँ भेरियन्टको कोभिड

कोरोनाको नयाँ भेरियन्टले कोभिड– १९ नियन्त्रणको अग्रपंक्तिमा खटिएर काम गर्ने सुरक्षाकर्मी पनि संक्रमित भएका छन् । नयाँ भेरियन्टबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी संक्रमित भएका छन् । नेपाली सेनाका अनुसार कोरोनको नयाँ भेरियन्टबाट संक्रमित सैनिक भने हालसम्म देखिएका छैनन् ।

नयाँ भेरियन्टबाट कति सुरक्षाकर्मी संक्रमित भए भन्ने तथ्यांक भने आएको छैन । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी वसन्त कुँवरले कोरोनाको नयाँ भेरियन्टले सुरक्षाकर्मीलाई संक्रमित बनाएको स्वीकार गरे । उनले भने, ‘कोरोनाको नयाँ भेरियन्टले सुरक्षाकर्मीलाई पनि संक्रमति बनाएको छ । दैनिक फ्रन्टलाइनमा खटिनुपर्ने भएको हुँदा पनि उनीहरूमा संक्रमणको जोखिम उच्च देखिएको हो । यद्यपि, रोकथामको उपाय अपनाइरहेका छौँ ।’

सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी राजु अर्यालले नयाँ भेरियन्ट पहिलेको भन्दा घातक देखिएको हुँदा सुरक्षाका सबै विधि अपनाएर काम गरिएको बताए । ‘नयाँ भेरियन्ट आएको छ । यसको विरुद्ध लड्न सुरक्षाकर्मी तयार छन्,’ उनले भने, ‘सुरक्षा विधि अपनाउन कडाइ गरेका छौँ ।’ सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले नयाँ भेरियन्टबाट संक्रमित सैनिक देखिएको भन्ने जानकारीमा नआएको बताए ।

तीनवटा सुरक्षा निकायका १० सुरक्षाकर्मीले कोभिड संक्रमणका कारण ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा नेपाल प्रहरीका सुरक्षाकर्मी धेरै छन् । प्रहरी तथ्यांकअनुसार कोभिड– १९ को महामारी सुरु भएयता प्रहरीका मात्रै ६ सुरक्षाकर्मीको मृत्यु भएको छ । त्यस्तै, नेपाली सेना र सशस्त्र प्रहरीको दुई–दुई सुरक्षाकर्मीको मृत्यु भएको छ ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुँवरले भने, ‘कोभिड– १९ को महामारी सुरु भएलगत्तै अग्रपंक्तिमा खटिएर नेपाल प्रहरीले काम ग¥यो । यस क्रममा धेरै संक्रमित भए । जसमध्ये ६ जना सहयोद्धा गुमाउनुपर्‍यो । नेपाल प्रहरीका लागि यो ठूलो क्षति हो ।’

त्यसैबीच, महामारी सुरु भएयता तीनवटै सुरक्षा निकायका १३ हजार चार सय ८२ सुरक्षाकर्मी संक्रमित भएका थिए । जसमध्ये १३ हजार दुई सय ७५ निको भएर घर फर्किसकेका छन् । बाँकी एक सय ९५ जना क्वारेन्टिनमा बसेर उपचार गराइरहेका छन् ।

संक्रमित हुने संख्या पनि नेपाल प्रहरीकै सुरक्षाकर्मीको धेरै छ । यस अवधिमा नेपाल प्रहरीका मात्रै सात हजार चार सय ६२ सुरक्षाकर्मी संक्रमित बनेका छन् । जसमध्ये सात हजार तीन सय ६ निको भएर घर फर्किए ।

संक्रमित हुनेमा त्यसपछि नेपाली सेनाका सुरक्षाकर्मी धेरै छन् । तथ्यांकअनुसार यस अवधिमा सेनाका पाँच हजार दुई १७ सुरक्षाकर्मी संक्रमित बने । जसमध्ये पाँच हजार एक सय ७४ निको भएर काममा फर्किसकेका छन् । सशस्त्र प्रहरीका भने यस अवधिमा आठ सय तीन सुरक्षाकर्मी संक्रमित बने । जसमध्ये सात सय ९५ निको भएर नियमित काममा फर्किसकेका छन् ।

तीनवटै सुरक्षा निकायका अझै एक सय २४ सुरक्षाकर्मीमा कोरोनाको संक्रमण छ । जो अहिले अस्प्तालमा उपचाररत छन् । उपचाररतमध्ये नेपाल प्रहरीका सुरक्षाकर्मी ७९, सेनाका ४१ र सशस्त्रका चारजनाले क्वारेन्टिनमा उपचार गराइरहेका छन् ।

सैनिक प्रवक्ता सहायक रथी पौडेलले भने, ‘नेपाली सेनाका पाँच हजार सुरक्षाकर्मी कोरोनाबाट संक्रमित बने । अधिकांश निको भएर नियमित ड्युटीमा फर्किएका छन् । ४१ जनाकोे उपचार भइरहको छ ।’

कोरोना– १९ विरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिने झन्डै एक लाख सुरक्षाकर्मीले कोरोनाविरुद्धको पहिलो खोप लगाइसकेका छन् । ३३ हजारले दोस्रो चरणको खोप पनि लगाएका छन् ।

पहिलो चरणको खोप लगाउनेमध्ये नेपाल प्रहरीको संख्या ३७ हजार पाँच सय रहेको छ । दोस्रो चरणको खोप लगाउने भने दश हजार नौ सय छन् । त्यस्तै, नेपाली सेनाका झन्डै ३५ हजार सुरक्षाकर्मीले पहिलो चरणको खोप लगाए । दोस्रो चरणको खोप लगाउनेको संख्या भने ६ हजार छ । त्यस्तै, सशस्त्र प्रहरीका २५ हजार ६ सय ६८ सुरक्षाकर्मीले कोभिडविरुद्धको पहिलो चरणको खोप लगाएका छन् । दोस्रो चरणको खोप लगाउनेको संख्या १७ हजार ६ सय ६८ रहेको छ । -नयाँ पत्रिकाबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार