अक्सिजन सिलिन्डर खोज्न प्रहरी परिचालन

अक्सिजन सिलिण्डर

बिर्तामोड: प्रहरी परिचालन गरी लुकाइएका तथा प्रयोगविहीन अवस्थाका अक्सिजनका सिलिन्डरको संकलन थालिएको छ । जिल्ला प्रहरी कार्यालय झापाले चार दिनयता सिलिन्डर खोजी तथा संकलनलाई तीव्रता दिएको हो ।

जिल्लाका विभिन्न स्थानबाट १ सय ४३ थान अक्सिजन सिलिन्डर संकलन गरेको जिल्ला प्रहरीका डीएसपी राकेश थापाले जानकारी दिए । उनका अनुसार दमक र काँकडभिट्टा क्षेत्रबाट १२/१२, धुलाबारीबाट १९ र बिर्तामोड क्षेत्रबाट सय वटा सिलिन्डर संकलन गरिएको हो ।

जसमध्ये ६ वटा अक्सिजन भरिएका छन् । एक सय १३ वटा सिलिन्डर अक्सिजन भर्न पठाइएको छ । १५ वटामा अक्सिजन भर्न बाँकी रहेको छ । संकलित सिलिन्डरमा अक्सिजन भर्नका लागि दमकको मातृका ट्रेडर्स तथा बिर्तामोडको कपुरी ट्रेडर्स र जलकन्या ट्रेडर्समा पठाइएका छन् ।

कोभिड संक्रमितका लागि अक्सिजन अभाव हुन थालेपछि सिलिन्डरको खोजी तथा संकलन कार्य सुरु गरेको डीएसपी थापाले बताए । उनले भने, ‘विभिन्न कलकारखाना तथा ग्यारेजहरूमा वेल्डिङलगायतका कामका लागि राखिएका तथा प्रयोगविहीन अवस्थामा रहेका अक्सिजन सिलिन्डर संकलन गरिरहेका छौं ।’ अहिले अन्य प्रयोजनभन्दा कोभिड संक्रमितका लागि अक्सिजन अत्यावश्यक भएकाले सिलिन्डर खोजीमा जुटेको उनको भनाइ छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार