कञ्चनपुरका पाँच स्थानीय तहमा तीन हजार ४ सय मिटर जैविक तटबन्ध निर्माण

कञ्चनपुरका पाँच स्थानीय तहमा तीन हजार ४ सय मिटर जैविक तटबन्ध निर्माण

जैविक तटबन्ध
जैविक तटबन्ध

कञ्चनपुर: कोरोना कहरबीच कञ्चनपुरका पाँच स्थानीय तहमा जैविक तटबन्ध निर्माण गरिएको छ। नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरले मर्सिकोरको सहयोगमा सञ्चालन गरेको एमरेड परियोजनाअन्तर्गत स्थानीय तहहरुसँगको साझेदारीमा जैविक तटबन्ध निर्माण गरेको हो।

पाँच स्थानीय तहमा तीन हजार ४०० मिटर जैविक तटबन्ध निर्माण गरिएको परियोजनाका अधिकृत महेश घिमिरेले बताए । घिमिरेका अनुसार लालझाडी गाउँपालिकाको दोदा नदीमा एक हजार ८००, कृष्णपुर नगरपालिकामा दोदा र वनहरा नदीमा ५५० मिटर,  शुक्लाफाँटा नगरपालिकामा स्याली नदीमा ३०० मिटर, पुनर्वास नगरपालिकामा दोदा नदीमा ६०० मिटर र बेलौरी नगरपाालिकामा १५० मिटर जैविक तटबन्ध निर्माण गरिएको छ।

जैविक तटबन्ध निर्माणका लागि ५८ लाख ८९ हजार १३० रुपैयाँ लगानी गरिएको छ। जसमध्ये परियोजनाको तर्फबाट २३ लाख ७९ हजार ६१३, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाँच लाख ४१ हजार ५३१ रुपैयाँ लगानी गरिएको छ। यसैगरी, स्थानीय तहको तर्फबाट २६ लाख ४३ हजार ५५ र समुदायको तर्फबाट ३२ लाख २५ हजार ४७५ रुपैयाँ लगानी गरिएको छ।

जैविक तटबन्ध निर्माण कार्यबाट दुई हजार ६ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन्। जैविक तटबन्ध निर्माणले गत वर्ष भू–क्षय हुँदै आएको २५ बिघा जग्गा संरक्षण भएको छ। नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरका कोषाध्यक्ष थीरेन्द्रचन्द्र भट्टका अनुसार २०६५ सालको विनासकारी बाढीबाट क्षति भएपछि जैविक तटबन्धको अवधारणा अघि सारिएको बताए।

‘विभिन्न संघ संस्था र परियोजनासँग मिलेर जिल्लामै पहिलोपटक जैविक तटबन्ध निर्माण सुरु गरिएको छ,’ उनले भने, ‘थोरै लागतमा समुदायको सहभागितामा निर्माण गरिने जैविक तटबन्ध प्रभावकारी हुँदै गएपछि यसको माग बढ्दो छ। जैविक तटबन्धले हजारौं बिघा जग्गा भू–क्षय हुनबाट जोगिएको छ।’

लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले दोदा नदीमा आउने बाढीका कारण हुने भू–क्षयको कार्य जैविक तटबन्धको कारणले रोकिएको बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार