नेपालमा बुधबार २५ प्रतिशतमा कोरोना संक्रमण पुष्टि !

यी हुन् ५०० भन्दा धेरै सक्रिय संक्रमित रहेका जिल्ला

कोरोना अपडेट नेपाल

काठमाडाैं: नेपालमा पछिल्लो समय घट्दै गएको कोरोना संक्रमणदर पुन: बढ्न थालेको छ। असार महिनामा १७ प्रतिशतमा झरेको संक्रमणदर बुधबार बढेर २५ प्रतिशतमा पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाभित्र देशभर पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएका कूल परीक्षणमध्ये २५ प्रतिशतमा संक्रमण पुष्टि भएको छ। पीसीआर विधिबाट गरिएको परीक्षणलाई मात्र हेर्ने हो भने अझ संक्रमणदर २६.२८ प्रतिशतमा पुगेको छ।

असार ११ गते संक्रमणदर निषेधाज्ञा जारी भएयताकै सबैभन्दा न्यून १७.२५ प्रतिशतमा झरेको थियो। त्ससयता पुन: संक्रमणदर बढ्दै गएको देखिन्छ। असार १२ मा २१.२ प्रतिशत कायम भएको संक्रमणदर असार १३ मा भने पुन: १९.५२ प्रतिशतमा झरेको थियो। तर, त्यसपछि लगातार संक्रमणदर बढेको तथ्यांक छ।

असार १४ र १५ मा संक्रमणदर क्रमश: २१ र २२.४४ प्रतिशत हुँदै आज (१६ गते) २५ प्रतिशतमा उक्लिएको हो।

त्यसअघि असार ८ गते यो महिनाकै सबैभन्दा बढी २६.७४ प्रतिशत संक्रमणदर कायम भएको थियो। उक्त दिन धाैलागिरि अस्पतालबाट पुराना मितिमा भएका परीक्षणहरु एकमुष्ट रुपमा प्राप्त भएकोले प्रतिवेदनमा एकमुष्ट समावेश गरिएको मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो तथ्यांकले कोरोना संक्रमणको जोखिम अझै कम भइनसकेको देखाउँछ। दुई महिनादेखि जारी निषेधाज्ञा खुकुलो बनाएसँगै कोरोना संक्रमणदर पुन: बढ्ने संकेत देखिएको हो। स्वास्थ्य मन्त्रालयलेसमेत संक्रमणको जोखिम कम भइनसकेको भन्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ।

यी हुन् ५०० भन्दा धेरै सक्रिय संक्रमित रहेका जिल्ला
स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर ३३ हजार ५६१ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्। १७ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छ।

जसमध्ये बागमती प्रदेशका सबैभन्दा धेरै नाै वटा जिल्ला रहेका छन्। बागमतीका काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक र नुवाकोटमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ।

यसैगरी प्रदेश १ का तीन जिल्ला मोरङ, सुनसरी र झापामा पनि ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

त्यस्तै गण्डकी प्रदेशका कास्की र नवलपरासी (पूर्व), लुम्बिनी प्रदेशको बर्दिया, कर्णाली प्रदेशको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको कैलालीमा ५०० भन्दा धेरै सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार