रोजगारीका लागि भारत गएका आफन्त बेपत्ता हुँदा तनावमा परिवार

गड्डाचौकी नाका हुँदै मुग्लान लागेका नेपालीलाई भारतीय पक्षले पठाए फिर्ता

सुदूर : रोजगारीका लागि भारत गएका स्याङ्जाका शोभकान्त लामिछाने ३५ वर्षपछि भदौ पहिलो साता भेटिएको खबर सञ्चारमाध्यममा पढ्दा कञ्चनपुरको पुनर्वास नगरपालिका–४ की प्रियंका काफ्लेलाई पनि आशा जागेको छ। १३ वर्षअघि रोजगारीका लागि नयाँदिल्ली पुगेका बुवा शिवराज पनि फर्किन्छन् कि भन्ने आशा उनमा सञ्चार भएको छ।

‘बुवा २०६५ सालमा रोजगारीका लागि भारत जानुभएको थियो,’ उनले भनिन्, ‘अहिलेसम्म न फर्किनुभयो न सम्पर्कमै हुनुहुन्छ।’ रोजगारीका लागि भारत गएका नेपाली धेरै समयपछि घर फर्केको समाचार सुन्दा बुवा पनि टुपलुक्क आइपुग्ने आशा जागेको उनले बताइन्।

प्रियंका ८ वर्षकी हुँदा उनका बुवा नयाँदिल्ली गएका थिए। उनले भनिन्, ‘बुबा २०६५ फागुनमा भारत जानुभयो, चैतमा बहिनी जन्मिन्, बहिनी पनि १३ वर्षकी भइसकिन् तर बुवा अझै आउनुभएको छैन।’ धेरैपटक खोजी प्रयास गर्दा पनि बुवा नभेटिएको उनले बताइन्। ‘हामीले बुबाको खोजीका लागि दिल्लीमा काम गर्ने आफन्तलाई पनि सम्पर्क गरिरहेका छौं,’ उनले भनिन्, ‘तर उहाँको पत्तो लागेको छैन।’

रोजगारीका क्रममा भारत जाने र आउने गरेका उनी पछिल्लोपटक त्यता गएपछि परिवारको सम्पर्कमा छैनन्। ‘पहिला पनि पटकपटक भारत गएकाले त्यहाँ हराउनैपर्ने त होइन,’ उनले भनिन्, ‘तर केकति कारणले सम्पर्कविहीन हुनुभयो थाहै भएन।’

भारतमा काम गर्न गएका पुनर्वास नगरपालिका–५ का प्रताप विक पनि सम्पर्कमा नआएको ३० वर्ष भइसक्यो। रोजगारीका लागि भन्दै उनी मुम्बई गएका थिए। मुम्बई गएका आफ्ना पति हराएको लाली विक बताउँछिन्। ‘छोरी दुई वर्षकी थिइन्, त्यही बेला पैसा कमाउन भन्दै पति भारत जानुभएको थियो,’ लालीले भनिन्, ‘३० वर्ष बित्यो, आउनुभएको छैन, न त खबरै छ।’

पतिको अवस्था थाहा नहुँदा सरकारबाट पाउने सेवासुविधाबाट समेत वञ्चित हुनुपरेको उनको गुनासो छ। उनले भनिन्, ‘मुम्बईमा चौकीदारीको काम गर्नुहुन्थ्यो भन्ने सुनेकी थिएँ, चौकीदारी गर्ने मान्छे आफैँ हराउनुभयो।’ मुम्बईमा रहेका आफन्तले खोजी गर्दासमेत नभेटिएको उनी बताउँछिन्। ‘हामीले खोजीका लागि सक्नेजति सबै ग¥यौं,’ उनले भनिन्, ‘तर भेटिनुभएन।’

कामकै लागि भारत गएका डोटीको आदर्श गाउँपालिका–१, बाँझ गाउँका ३३ वर्षका दिलबहादुर खड्का पनि परिवारको सम्पर्कमा नआएको ६ वर्ष पुगेको छ। पति फर्केर आउने आशमा पत्नी प्रेमा खड्काका दिन बितिरहेका छन्। २०७२ सालमा पैसा कमाउन भन्दै दिलबहादुर बेंगलोर गएका थिए। ‘पल्लो गाउँका साथीहरूसँग भारत जान्छु भन्दै घरबाट हिँड्नुभएको थियो,’ प्रेमाले भनिन्, ‘साथीहरू कोही नगएपछि एक्लै जानुभएको रहेछ।’ जाने बेलामा पतिले भारत पुगेपछि फोन गरौंला भनी नम्बर लिएर गएको सम्झँदै प्रेमाले भनिन्, ‘न त फोन आयो न अरु माध्यमबाट उहाँ सम्पर्कमा आउनुभयो।’

पति ६ वर्षसम्म सम्पर्कमा नआएपछि धेरै ठाउँमा जोखना हेराएको बताउँदै उनले भनिन्, ‘पतिको अवस्थाबारे थाहा पाउन धेरै ठाउँमा जोखना हेराइसकेका छौं, जोखना हेर्ने सबैले आउँछन् भन्छन्।’ पति फर्कने आशमा देवीदेवतालाई पनि भाकल गरेको उनी बताउँछिन्। ‘आफन्त लगाएर पूरै बेंंगलोर खोजिसक्यौं,’ उनले भनिन्, ‘तर भेटिनुभएन।’

पतिको फोटो राखेर फेसबुकमा पनि लेखेको उनले बताइन्। ‘पतिको फोटो फेसबुकमा राखेर पनि खोजी अभियान जारी गर्‍यौं, अहिलेसम्म कसैले पनि देखेका छौं भनेका छैनन्,’ उनले भनिन्, ‘हामीले गर्नेजति गरिसक्यौं तर पत्तै लागेन।’ हराएका पतिको खोजीका लागि प्रहरीसमक्ष भने नपुगेको उनी बताउँछिन्। ‘भारत गएका मान्छेलाई प्रहरीले के खोज्ला भनेर प्रहरीमा निवेदन दिएकी छैन,’ उनले भनिन्, ‘भारतमा हराएका मान्छेको खोजी सरकारले गरिदिनु पर्ने हो।’

डोटीको शिखर नगरपालिका–३, जोरागाउँकी ६० वर्षीया जोगेनी भुल घरमा नौलो मान्छे आउनेबित्तिकै छोराको तस्बिर देखाउँछिन् र भन्छिन्, ‘अब त छोरो नदेखेरै मर्ने भएँ।’ उनलाई थाहा छैन बेपत्ता छोरा चेत भुल जीवित छन् वा छैनन्। तैपनि मर्नुअघि एकपटक छोरालाई देख्ने उनको धोको छ। २५ वर्षअघि रोजगारीका लागि भारत पसेका जोगेनीका जेठा छोरा चेत घर फर्केका छैनन्। चेत पनि पैसा कमाउन भन्दै मुम्बई गएका थिए।

आमा जोगेनीका अनुसार छोरा चेतले मुम्बईमा चौकिदारीको काम गर्थे। सँगै गएका अरू घर फर्किए तर उनी फर्केका छैनन्। सम्पर्कमा नआएका चेतका बारेमा भुल परिवारले कतै उजुरी वा निवेदन दिएको छैन। भारतमा हराएका छोरालाई नेपाल प्रहरीले खोजिदेला भन्ने उनीहरूलाई लागेन। त्यसैले गाउँघरतिरै धामीझाँक्री र ज्योतिषलाई हेराउने काम मात्रै गर्‍यो भुल परिवारले। ‘धामीझाँक्रीले छोरो बाँचेकै छ, एकदिन आउँछ भन्छन्,’ आमा जोगेनीले भनिन्, ‘खै १ आउँछ, आउँदैन दैव जानुन्।’

कामका लागि भारत गएपछि सम्पर्कमा नआएका नेपालीको तथ्यांक संकलन गरेको गैरसरकारी संस्था निड्स नेपालका अनुसार कञ्चनपुरको महाकाली नगरपालिकाका ५४ र पुनर्वास नगरपालिकाका ३७ तथा डोटीको शिखर नगरपालिकाका एक सयजना भारतमा बेपत्ता छन्। –नागरिक दैनिकबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार