कैलालीको रानीजमरा कुलरिया सिँचाइ आयोजनामा १४ करोडको क्षति

कैलालीको रानीजमरा कुलरिया सिँचाइ आयोजना

कैलाली : कैलालीको रानीजमरा आयोजनामा १४ करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । बेमौसमी वर्षासँगै कर्णाली नदीमा आएको भीषण बाढीका कारण बाढीले तटबन्ध बगाउँदा रानी जमरा कुलरिया सिँचाइ आयोजनाको मात्र करिब १४ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ ।

आयोजनाको नहर सर्भिस रोड र तटबन्धमा बाढीले क्षति पुर्‍याएको हो । वर्षौदेखि कर्णाली नदीको बाढीको पीडा खेप्न बाध्य स्थानीय नदी किनारमा तटबन्ध बनेपछि बाढीको जोखिमबाट मुक्ति पाइएला भन्ने आशमा थिए । तर यसपालीको बेमौसमी वर्षासँगै कर्णाली नदीमा आएको भीषण बाढीका कारण ठाउँठाउँमा तटबन्ध भत्केर बस्तीमा डुबानमा परेपछि त्रास झन् थपिएको छ । कर्णाली नदीले खैरेनी चिसापानी क्षेत्रमा करिब एक सय मिटर तटबन्ध कटान गरी आयोजनाको मुल नहरमा अत्याधिक पानी पसी क्षति पुर्‍याएको आयोजनाले जनाएको छ । प्रारम्भिक सर्भेको आधारमा क्षति अनुमान गरिएको आयोजनाका सिनियर डिभिजन इन्जिनियर विदुर श्रेष्ठले बताए ।

‘आयोजजनाले बनाएका संरचनामा क्षति भएको छैन । तटबन्धमा क्षति भएको छ,’ उनले भने । उनका अनुसार मुल नहरको करिब १० मीटर र लम्की विस्तार नहरमा करिब २५ मीटर लाइनिङ प्यानल फुटाएको छ भने रानी जमरा कुलरिया शाखा नहरको मुहानमा क्षति पुगेको छ । त्यसैगरी, टीकापुर नगरपालिकाको शाहीपुर क्षेत्रबाट तटबन्ध फुटाएर कर्णाली नदी बस्तीतिर गइ हुलाकी राजमार्गको सत्ती क्षेत्रमा करिब ३ सय मिटर बाटो पुर्ण रुपमा क्षति पुगेको छ । सिनियर डिभिजन इन्जिनियर श्रेष्ठले भने, ‘शाहीपुरको तटबन्ध निर्माणाधीन अवस्थामै थियो । १२ मीटर चौडाइको बन्नुपर्ने तटबन्ध ६ मीटर मात्र बनेको थियो । त्यहीबाट तटबन्ध फुट्यो ।’ रानी जमरा कुलरियाको सिञ्चित क्षेत्रका करिब २ किलोमीटर सर्भिस रोडमा क्षति पुगेको र सत्तीदेखि खक्रौलासम्म रहेको बक्स तथा ह्युमपाइप कल्भर्टमा पनि क्षति पुगेको उनले बताए ।

कर्णाली नदीमा ४२ किलोमीटर जति तटबन्ध बनाउनुपर्नेमा करिब ३५ किलोमीटर मात्र निर्माण सम्पन्न भएको थियो । नबनेको र बन्ने क्रममा रहेको ठाउँबाट कर्णाली नदी बस्तीतिर छिरेको सिडिइ श्रेष्ठले बताए । उनका अनुसार कर्णाली नदीको चिसापानीमा गरिएको मापन अनुसार पानीको सतह निकै बढी भएकोले पनि कर्णाली नदीले क्षति पुर्‍याएको हो । नदीको वार्निङ लेभल ९.८ मिटर र डेन्जर लेभल १०.५ मीटर रहेको छ । पानीको सतह १३ मीटरसम्म पुगेको उनले बताए । कर्णाली नदीको पश्चिम भंगालोमा नदीजन्य पदार्थको अत्याधिक उत्खननले नदीको बहाव पश्चिम भंगालोमा आएको र नदीको विच विचमा स–साना टापु निर्माण भइ नदीको पानी बग्ने क्षेत्र कम हुन पुगेको थियो । कर्णाली नदीको पानी पसेर रानी जमरा कुलरिया कुलोमा पनि पानीको बहाव बढी भइ यो क्षेत्रमा क्षति पुगेको जनाइएको छ । बाढीले आयोजनाले बनाएका संरचनामा क्षति नपुगे पनि तारजाली र ढुंगाले बनाइएका तटबन्धमा क्षति पुगेको श्रेष्ठले बताए ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार