आर्थिक रूपले विपन्न ६ जना बालबालिकालाई न्यानो कपडा र नगद सहयोग

आर्थिक रूपले विपन्न ६ जना बालबालिकालाई न्यानो कपडा र नगद सहयोग

धनगढी : कैलाली जिल्लाका विभिन्न वडाका ६ जना अनाथ असहाय तथा विपन्न बालबालिकालाई न्यानो कपडा तथा नगद सहयोग हस्तान्तरण गरिएको छ । विगत केही दिन देखि बढ्दै गएको चिसोका कारण लत्ता कपडा नभई अप्ठेरोमा परेमा बालबालिकालाई युनिसेफ नेपालको सहकार्यमा बासले उक्त सहयोग हस्तान्तरण गरेको हो ।

सहयोग अन्तरगत आर्थिक अवस्था निकै कमजोर रहेका गौरीगंगा नगरपालिका वडा नम्बर ९ को जनता आधारभूत विद्यालयमा अध्ययनरत प्रकाश सिजाली मगर र द्रोपती सिजाली मगरलाई लत्ताकपडा सहयोग गरिएको छ। बाजे बज्यैको संरक्षणमा रहेका ती बालबालिकाहरू कपडा र जुत्ता नभएको जानकारी भएपछि उनीहरूलाई न्यानो लुगा, जुत्ता, स्कुल पोसाक लगाएका सामाग्री उपलब्ध गराएको छ । जंगलको किनारमा सानो कच्ची घरमा बस्दै आएका उनीहरूलाई घरमै भेटेर गौरीगंगा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष हरि प्रसाद तिवारीले सहयोग हस्तान्तरण गरेका थिए ।

सहयोग हस्तान्तरण पश्चात् बोल्दै वडाध्यक्ष तिवारीले वडाले गर्नुपर्ने काममा बासले गरेको सहयोग प्रशंसनीय भएको बताएका थिए । उनले आफ्नो वडामा रहेका विपन्न बालबालिकालाई सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरेका छन् । आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष हरि प्रसाद तिवारी, परियोजना संयोजक हेमराज भट्ट, जनता आधारभूत विद्यालयका प्रधानाध्यापक ममता विष्ट, बास कैलालीका कोषाध्यक्ष यशोदा बराल, परियोजनाका कर्मचारी तेज बोहरा लगायतको उपस्थिति रहेको थियो । बुवा आमा नभएका ती बालबालिकालाई बाजे बज्यैले गिट्टी कुट्दै पालनपोषण गर्दै आएका छन् ।

यसै गरी सोही नगपालिका वडा नम्बर ३ का असहाय महिला लक्ष्मी टमट्टाका छोराछोरी शङ्कर टमट्टा र सम्झना टमट्टालाई घरमै पुगेर आर्थिक सहयोग गरिएको छ । घरमा खाद्यान्न लगायतको अभावले बालबालिका समेत भोकै बस्ने अवस्था सिर्जना भएको जानकारी भएपछि बासले बाल संरक्षण कार्यक्रम अन्तरगत बालबालिकाका लागि ५ हजार आर्थिक सहयोग गरेको हो । सहयोग हस्तान्तरण गौरीगंगा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष जगत राम चौधरीले नगद सहयोग रकम बालबालिकाकी आमा लक्ष्मी टमट्टालाई हस्तान्तरण गरेका थिए ।

यस्तै गरी लम्किचुहा नगरपालिका वड नम्बर १ का विपन्न परिवारका चेतन टमट्टा र जानकी टमट्टालाई न्यानो कपडा तथा नगद सहयोग गरिएको छ । कक्षा ४ र ५ मा अध्ययनरत ती बालबालिकालाई न्यानो कपडा तथा उनका दाइ सुरेन्द्र टमट्टालाई नगद हस्तान्तरण परियोजना संयोजक हेमराज भट्टले हस्तान्तरण गरेका थिए । बासले युनिसेफ नेपालको सहयोगमा कर्णाली र सुदूरपश्चिम प्रदेशमा बाल संरक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही अन्तरगत बालबालिका सहयोग कार्यक्रमबाट उक्त सहयोग हस्तान्तरण गरिएको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार