तराईका भूमिपुत्र थारु समुदायमा माघी पर्व को व्यग्लै रौनक !

थारु समुदाय
प्रकाशित : :

धनगढी: तराईका भूमिपुत्र थारु समुदायमा हिजो देखि माघी (माघ) पर्व सुरु भएको छ । तीन दिनसम्म धुमधामसंग मनाउने यो पर्व हिजो पुस अन्तिम दिनदेखि सुरु भएको हो ।

थारु समुदायले माघी पर्वलाई नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् । माघ १ गतेदेखि थारु सम्वत एवम् थारु समुदायको नयाँ वर्ष सुरु हुने गरेको छ । माघी पर्व सुरु भएसंगै थारु बस्तीमा माघीको चहलहपल बढेको छ । सबैभन्दा ठूलो पर्व भएकाले थारु समुदायले माघीलाई धुमधामसंग मनाउने गरेका छन् ।

यो समुदायका अगुवाहरुका अनुसार माघीको पहिलो दिन अर्थात पुस महिनाको अन्तिम दिन वर्षदिनको दुःख, पीडा भुलेर मिठो खाने, नाचगान गर्दै रमाउने चलन रहेको छ । यो दिन हरेक थारु गाउँमा सुङ्गुर मारिएको हुन्छ । विशेष गरेर सुङ्गुरको मासु लगायतका परिकार खाने र रमाउने चलन छ । माघीको पहिलो दिनलाई थारु भाषामा ‘जिता मर्ना’ दिन भनिन्छ ।

माघे सङ्क्रान्ति अर्थात नयाँ वर्षको दिन आफ्नो परिवार, इष्टमित्र, आफन्त सबैलाई भेटघाट गर्दै माघीको शुभकामना आदान प्रदान गर्ने गरिएको छ । यो दिन प्राणी हिंसा गर्न बर्जित गरिएको र ढिक्री, तरुल जस्ता परिकार खाने चलन रहेको जनाइएको छ । माघीको दोस्रो दिनलाई ‘माघ लहान’ भन्ने गरिन्छ ।

माघ २ गते अर्थात माघीको अन्तिम दिन भने विवाहित छोरीलाई उपहार ‘निसराउ’ दिने घरपरिवार र गाउँको आर्थिक हरहिसाब परिवाररगाउँवासी समक्ष प्रस्तुत गर्नेदेखि लिएर वर्षभरि भएका कामकाजको समीक्षा गर्ने जस्ता कार्य गरिन्छ ।

थारु समुदायमा हरेक वर्ष एक दिन सामाजिक परीक्षण हुने गर्दछ, त्यो भनेकै माघको अन्तिम दिन हो । यसैगरी, यहि दिन नै आगामी दिनमा के, कसरी काम गर्ने भनेर त्यसको योजना बनाउने लगायतको कार्य हुने गर्दछ । यसलार्ई ‘खोज्नीबोज्नी’ र पर्वको अन्तिम दिनलाई ‘खिच्रहवा’ भनिन्छ ।

यस दिन परिवारको मूली र गाउँका नेतृत्वकर्ता चयन गर्ने गरिन्छ । भलमन्सा प्रथाबाट चल्दै आएको थारु समुदायले यसै दिन गाउँको नेतृत्व गर्नका लागि भलमन्सा लगायत अन्य पदाधिकारी चयन गर्ने गर्दछन् । यस दिन राम्रो काम गर्ने नेतृत्वकर्तालाई पुरस्कार स्वरुप पुनः एक वर्षका लागि नेतृत्वको जिम्मेवारी दिने गरिन्छ । तर, गाउँवासीले चाहे अनुसार काम गर्न नसकेका वा विभिन्न कार्यमा सकारात्मक भूमिका खेल्न नसकेका नेतृत्वकर्तालाई सम्मानपूर्वक जिम्मेवारीबाट बिदाई गर्ने गरिएको छ ।

 

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट