विभिन्न कार्यक्रम गरी आज विश्व सिमसार दिवस मनाइँदै छ ।
यो वर्ष ‘सिमसार र पानी’ भन्ने नारासहित दिवस मनाउन लागिएको हो । सन् १९९७ देखि रामसार महासन्धिमा हस्ताक्षर भएको दिनलाई आधार मानेर नेपालले हरेक वर्षको फेब्रुअरी २ मा यो दिवस मनाउँदै आएको छ।
सिमसारको विश्वस्तरमै संरक्षण गर्न सन् १९७१ मा जलपक्षीको वासस्थानसम्बन्धी सिमसार (रामसार) महासन्धि भएको थियो । यो महासन्धिमा १६९ देशहरु सामेल भएका थिए । नेपाल भने औपचारिक रुपमा सन् १९७१ मा महासन्धिको सदस्य बनेको हो ।
विश्वसूचीमा नेपालका १० वटा सिमसार दर्ता भएका छन् । कैलालीको घोडाघोडी ताल, रारा ताल, कोशीटप्पु वन्यजन्तु आरक्ष, बीसहजारी ताल, जगदीशपुर जलाशय, शे-फोक्सुन्डो ताल, माइपोखरी अनि पोखरा नगरीका नौ वटै तालहरु सिमसार क्षेत्रमा रहेका छन् ।
पुराना अध्ययनहरुले नेपालमा ठूला–साना गरी ४ हजारभन्दा धेरै सिमसार क्षेत्रहरु रहेका छन् । नेपालले पनि सिमसार क्षेत्रको महत्त्व आत्मसाथ गर्दै २०५९ सालमा जारी गरेको सिमसार संरक्षण नीतिलाई २०६९ सालमा परिमार्जन र स्वीकृति दिएको थियो । त्यसमा सिमसार र त्यसको वरपर स्रोत संरक्षण गर्न ‘सिमसार कोष’ स्थापना गर्ने नीति पनि अघि सारेको थियो ।
यस्तै राष्ट्रिय सिमसार नीति, २०५९ अनुसार, नेपालको तराईका सिमसार क्षेत्रहरूमा मात्रै ३२ प्रजातिका स्तनधारी जनावर, ४६१ प्रजातिका चराहरू जसमध्ये १५ प्रजाति दुर्लभ श्रेणीका, ९ प्रजातिका कछुवा, २० प्रजातिका सर्प र २८ प्रजातिका माछा पाइन्छन् ।
हरेक वर्ष दिवस मनाउने र जतचेतनामूलक कार्यक्रमहरु गरिए पनि प्राकृतिक सम्पदाका रुपमा रहेका सिमसार क्षेत्रलाई अतिक्रमणबाट जोगाउन भने सकिएको छैन । मानवीय विकास क्रम अनि पूर्वाधारहरुको अविवेकी विकासक्रमले नेपालमा सिमसारक्षेत्र नासिने क्रममा रहेका छन् ।
पछिल्लो समय उदयपुरको त्रियुगा उपत्यका र आसपासका भूभागमा प्राकृतिक सिमसार क्षेत्रका रुपमा रहेका कतिपय ताल, तलैया र पोखरीहरु अतिक्रमण भएपछि यस क्षेत्रको जैविक विविधताको अस्तित्वसमेत संकटमा परेको छ ।
सिमसार भन्नाले पानी र जमिन मिश्रित दलदल भएको ठाउँ हो । जुन ठाउँ ओसिलो र धापिलो हुन्छ ।