भागरथी हत्या प्रकरण: परिचितबाटै हत्याको आशंका

बैतडीमा किशोरी मृत्यु प्रकरण
प्रकाशित : :

धनगढीः भागरथी भट्टको हत्या परिचित व्यक्तिबाटै भएको आशंका अनुसन्धानमा संलग्न अधिकारीहरूले गरेका छन् । घटनास्थलबाट मोबाइलसहित अनुसन्धानका थुप्रै ‘क्लु’ फेला परेकाले अपराधीको नजिक पुगिसकेको उनीहरूको भनाइ छ ।

घटना बुधबार अपराह्न ३ बजेतिर भएको प्रहरीको अनुमान छ । घटना अनुसन्धान गर्न एसएसपी जनक पाण्डेको नेतृत्वमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), जिल्ला प्रहरी कार्यालय बैतडी र इलाका प्रहरी कार्यालय पाटनको टोलीलाई एकीकृत रूपमा परिचालन गरिएको छ । सीआईबीबाट निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धानका लागि कञ्चनपुरमा रहेका डीएसपी पञ्चकुमार बाखुको टोलीलाई नै भागरथीको मृत्युको छानबिनमा पनि खटाइएको छ।

भागरथीको शवसँगै भेटिएको मोबाइल र त्यसको कल डिटेलबारे अनुसन्धान गर्न विशेष टोली खटिएको छ । प्रहरीले केही युवामाथि शंका गरेको छ । भागरथी अध्ययनरत विद्यालयका शिक्षक, नजिकका साथी, गाउँका मानिससँग उनको आनीबानीबारे सोधपुछ गरिरहेको छ । सोधपुछको दायरामा नआएका तर शंकामा परेकामाथि सूक्ष्म निगरानी गरिएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार बुधबार भागरथीलाई मोबाइलमा केही कल आएको थियो तर उनले रिसिभ/कलब्याक गरेकी थिइनन् । विद्यालयबाट निस्कँदा चार जना सँगै थिए तर घरमा आमा एक्लै रहेको भन्दै भागरथी छिट्टै घर पुग्ने गरी साथीहरूबाट छुटेर हिँडेकी थिइन् ।

घटनास्थलबाट मोबाइलसहित अनुसन्धानका थुप्रै ‘क्लु’ फेला परे पनि प्रहरीले यसबारे केही खोलेको छैन । ‘अपराध गर्ने व्यक्तिको नजिक पुगिसकेका छौं । पोस्टमार्टम रिपोर्ट, भजाइनल स्वाब र शरीरका नीलडामको प्रमाणबाट शंका गरिएका मानिससँग भिडाउन बाँकी छ,’अनुसन्धानमा संलग्न एक प्रहरीले भने । धनगढीबाट ल्याइएको कुकुरले पानी परेकाले सामान्य अवस्था जस्तो विस्तृतमा संकेत नदिए पनि अपराधको ‘लोकेसन’ पहिल्याएको अनुसन्धानमा संलग्न स्रोतले जनाएको छ । आजको कान्तिपुर दैनिकमा मातृका दाहालले समाचार लेखेका छन् ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट