भारतको उत्तराखण्डमा हिमनदी फुट्दा मृत्यु हुनेमध्ये १० नेपालीको पहिचान !

हिमनदी फुट्दा मृत्यु हुनेमध्ये १० नेपालीको पहिचान
तपोवनस्थित जलविद्युत्‌ परियोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धार गर्दै आईटीबीपीका सुरक्षाकर्मी तस्बिर : रोयटर्स
प्रकाशित : :

काठमाडौँ: भारत उत्तराखण्ड राज्यको चमोली जिल्लामा गत आइतबार हिमनदी फुट्दा आएको बाढीमा परेर ज्यान गुमाउनेमध्ये स्थानीय सडकमा मजदुरी गर्दै आएका १० नेपाली मजदुरको शव पहिचान भएको छ ।

हिमनदी विस्फोटपछि धौलीगंगा र अलकनन्दासहितका नदीमा आएको बाढीमा परी स्थानीय सडक निर्माणमा खटिएका दर्जनौं नेपाली, भारतीय मजदुरसहित स्थानीय बासिन्दा बेपत्ता भएका थिए ।

उत्तराखण्डको हरिद्वार–ऋषिकेश क्षेत्रमा नेपाली समाजमा समन्वय गरिरहेका पुष्पराज पाण्डेयका अनुसार स्थानीय रैनी र तपोवन क्षेत्रमा रहेका सडकमा कार्यरत मजदुर तथा तपोवनस्थित नेसनल थर्मल पावर कर्पोरेसनका कर्मचारी बढीजसो बेपत्ता छन् । ‘मजदुरलाई ठेकेदारले दिएको टोकन नम्बर (परिचय) का आधारमा १० नेपालीको पहिचान सम्भव भएको हो,’ पाण्डेयले फोनमा भने, ‘पहिचान खुलेका मृतक कामदारहरू कालीकोट र जुम्ला जिल्लाका छन् ।’

‘टोकन नम्बर’ का आधारमा पत्ता लागेका मृतकमा नरेन्द्रबहादुर, गणेश नेपाली, जगतबहादुर नेपाली, प्रताप सिंह, गोविन्द सिंह, रणजित सिंह, शंकर, मकर सिंह, मदन सिंह र रमेश नेपाली छन् । ‘यो विपत्तिमा परेर नेपाली श्रमिकले ज्यान गुमाएको सूचनालाई सक्दो अभिलेखमा राख्ने र सम्बद्ध परिवारलाई राहत–क्षतिपूर्ति दिलाउने कुरामा हरिद्वार–ऋषिकेशको नेपाली समाज लागिपरेको छ,’ पाण्डेयले भने, ‘तर, विपत्तिपछिको हताहत स्थिति साम्य भइनसकेकाले सबै सूचना लिन र राहत–उद्धारमा समन्वय गर्न अझै मुस्किल परिरहेको छ ।’

यो विपत्तिमा परेर ज्यान गुमाउनेमध्ये मंगलबार साँझसम्ममा ३० भन्दा बढी मजदुर र स्थानीयवासीको शव फेला परिसकेको छ । बाढीमा परेर अझै १ सय ७५ जना हराइरहेका छन् । उत्तराखण्डको चमोली जिल्ला प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार हराइरहेकामध्ये ११ जना नेपाली छन् । सूची सार्वजनिक भएको बाहेक पनि थप ४० जनाभन्दा बढी हराइरहेको चमोली जिल्ला विपद् व्यवस्थापन कार्यालयको कन्ट्रोलले जनाएको छ । सार्वजनिक सूचीमा तिनीहरूलाई नेपाली भनिए पनि एक जनाको मात्र ठेगाना खुलेको छ ।

हराइरहेका नेपालीहरूमध्ये तीन जना तपोवनस्थित एनटीपीसीको जलविद्युत् आयोजना, सात ऋषिगंगा जलविद्युत् परियोजनामा र एक जना रैनी गाउँमा मजदुरी गर्दै आएका थिए । तीमध्ये तपोवन आयोजनामा काम गर्ने कैलालीको टीकापुरका सोहन चौधरीको मात्र ठेगाना खुलाइएको छ । प्रहरीले जारी गरेको सम्पर्कविहीन रहेका ऋषिगंगा परियोजनामा कार्यरत ५५ मजदुरहरूको सूचीमा कतिपयको थर र ठेगाना उल्लेख नभएकाले थप नेपालीहरू बेपत्ता भएको हुन सक्ने आशंका गरिएको छ ।

उत्तराखण्डको जोशी मठ नजिक हिमनदी फुटेपछि धौलीगंगा र अलकनन्दालगायतका नदीमा बाढी आएको थियो । अलकनन्दा हिमाली क्षेत्रमा हिमपहिरोका कारण हिमनदीमा विस्फोट भएको आशंका गरिए पनि आधिकारिक रूपमा पुष्टि हुन सकेको छैन । बाढीले चमोली जिल्लाको रैनी र तपोवन क्षेत्रमा ठूलो मात्रामा जनधनको क्षति पुर्‍याएको छ । उक्त घटनामा परेर मंगलबार साँझसम्म ३२ जनाको शव फेला परेको छ ।

घटना भएको तीन दिन बितिसकेकाले मृत्यु हुनेको संख्या बढ्ने आशंका गरिएको छ । उद्धार टोलीले मंगलबार थप ६ जनाको शव फेला पारेको थियो । ती सबै शव नदी किनारमा अधिकांश अंगभंग भएको अवस्थामा थिए । बाढीले हिमनदीको फुटेको क्षेत्र नजिकका दुई गाउँ पनि बगाएको थियो । त्यसैगरी बाढीले जोशीमठ क्षेत्रमा चारवटा पुल पनि बगाएको छ । बाढीका कारण उक्त क्षेत्रका चारवटा जलविद्युत् आयोजनामा क्षति पुगेको बताइएको छ । त्यसमा पनि तपोवनस्थित ऋषिगंगा जलविद्युत् परियोजना र एनटीपीसी जलविद्युत् परियोजनामा बढी क्षति पुगेको छ । बाढीले एनटीपीसीको जलविद्युत् परियोजनाका दुई सुरुङ हिलो र ढुंगाले भरिएको थियो ।

त्यही आयोजनाको सानो सुरुङमा फसेका चार जना नेपालीको आइतबार जीवितै उद्धार गरिएको थियो । उनीहरूलाई आइतबार साँझ इन्डो–तिब्बत बोर्डर पुलिस (आईटीबीपी) को उद्धार टोलीले उद्धार गरेको थियो । उनीहरूको आईटीबीपीकै अस्पतालमा उपचार भइरहेको छ । आइतबार साँझसम्म ती चार जना नेपालीसहित १२ जनालाई जीवितै उद्धार गरिएको हो । बिहान १० बजेदेखि थुनिएका उनीहरूलाई साँझ ५ बजे उद्धार गरिएको थियो ।

त्यसबाहेक परियोजनाको मुख्य सुरुङमा कम्तीमा ३५ मजदुरहरू फसेको आशंका गरिएको छ । उनीहरूको उद्धार प्रयास जारी छ । चमोली जिल्ला प्रशासनको कन्ट्रोल रुमका अनुसार उद्धार टोलीले करिब दुई किमि लामो सुरुङको ८० मिटरसम्मको खण्डमा भरिएको हिलो र ढुंगा हटाइसकेको छ । उद्धारका लागि एनडीआरएफ, एसडीआरएफ, आईटीबीपी, एसएसपी र सेनालगायतको टोली खटिएको छ ।

पश्चिम नेपालबाट बर्सेनि हजारौंको संख्यामा नेपालीहरू उत्तराखण्डको जलविद्युत् र सडक परियोजना काम गर्न जाने गरेका छन् । त्यही भएर आइतबारको बाढीमा हराएकाहरूमध्ये थप नेपालीहरू पनि हुन सक्ने आशंका गरिएको छ ।-आजको कान्तिपुर दैनिकमा खबर छ । 

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट