भागरथी हत्याको ११ दिनः गाउँ-गाउँमा सिंहदरबार तर अझै पुगेन मृतकका आँगनमा प्रदेश सरकार !

अलमलमै प्रहरी अनुसन्धान

बैतडीमा किशोरी मृत्यु प्रकरण
प्रकाशित : :

केन्द्रीकृत शासन जनताका घरदैलोमा नपुगेपछि ठूलो मूल्य चुकाएर मुलुक संघीयतामा प्रवेश ग¥यो । संघीयतासँगै घरघरमै सरकार पुग्ने सपना बाँडियो । तर, बैतडी दोगडाकेदार–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको ११ दिनसम्म पनि प्रदेश सरकार घटनास्थल पुगेको छैन । न सन्तानवियोगको पीडामा रहेकी भागरथीकी आमालाई सान्त्वना दिन पुगेको छ ।

निकै आलोचना भएपछि ११औँ दिन सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिको एक टोली भने आइतबार भागरथीको हत्या भएको घटनास्थल पुग्यो । समितिकी सभापति कुन्ति जोशी, सदस्य सुशीला बुढाथोकी र नन्दबहादुर साउदसहित बैतडीका प्रदेश सभा सदस्य प्रेमप्रकाश भट्टले ११औँ दिन भागरथीको आँगन टेके ।

आइतबार बिहान दोगडाकेदार– ७ लवलेक जंगलमा रहेको घटनास्थलको अवलोकन गरेर उनीहरूले भागरथीका आफन्तलाई भेटे । दोषीमाथि कारबाही र घटनाबारे बुझ्न आफूहरू चडेपानी पुगेको उनीहरूको भनाइ थियो । लगत्तै सुदूरपश्चिम प्रहरी प्रमुख उत्तम सुवेदीसँग भेटघाट गरेका उनीहरूले भागरथी हत्यामा संलग्न अपराधीलाई छिटो सार्वजिनक गर्न माग गरे । ‘कुनै पनि निकायबाट प्रभाव नपर्ने गरी अनुसन्धान गर्नुहोस् । दोषीलाई कारबाही गर्दा भागरथीलाई मात्र होइन, सबै महिलामाथि न्याय हुन्छ,’ समितिकी सभापति जोशीले भनिन्, ‘निर्मला प्रकरणदेखि भागरथीको हत्यासम्म आइपुग्दा महिलाको सुरक्षामा ठूलो चुनौती सिर्जना भएको छ ।’

आइतबार दिउँसो साढे एक बजे दलबलसहित कांग्रेस नेता रमेश लेखक भागरथीको घर पुगे । स्थानीय खोचलेक बजारबाट उनको घर जाने बाटैमा रहेको घटनास्थलको अवलोकनपछि लेखकले भारगथीकी आमाको हातमा दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरे । लेखकले घटनाप्रति दुःख व्यक्त गर्दै भागरथीकी आमा द्रोपतीलाई सान्त्वना दिए । ‘दुःख परेको वेला सभापति शेरबहादुर देउवाले पार्टीको तर्फबाट थोरै सहयोग पठाउनुभएको छ’ भन्दै लेखकले खामभित्र रहेको चेक पीडित परिवारको हातमा थमाए ।

‘जो–जो साथीले सक्नुहुन्छ आर्थिक सहयोग गर्नुहोला,’ एक दर्जन गाडीको लस्करसँगै कार्यकर्ता बोकेर चडेपानी पुगेका नेता लेखकले भने, ‘पहिलो कुरा अपराधी पत्ता लाग्नुपर्छ भन्ने हो, त्यसपछि पीडित परिवारलाई आर्थिक सहयोग जुटाउनुपर्छ ।’

उनले घटनाबारे बुझ्न पार्टीले पठाएपछि आफू आएको बताए । ‘जति पीडा तपाईंहरूलाई छ, त्यति नै हामीहरूलाई पनि छ,’ उनले भने । दोषीलाई कानुनको कठघरामा उभ्याउन पूरा सहयोग गर्ने बताएका लेखकले गृहमन्त्री र प्रधानमन्त्रीलाई समेत कुरा गर्ने बताए ।

अलमलमै प्रहरी अनुसन्धान

सुदूरपश्चिम प्रहरी प्रमुख उत्तम सुवेदीले कमान्ड सम्हालेको तेस्रो दिन नै अनुसन्धानको दायरा साँधुरिएको बताएका थिए । ११ दिनसम्म आइपुग्दा पनि प्रहरीले उही भाषामा दोषीको नजिकनजिक पुगिसकेको बताइरहेको छ । तर, अनुसन्धानले लय समात्न नसकेको पनि प्रहरीको अभिव्यक्तिबाटै थाहा हुन्छ ।

आइतबार सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिसँग कुराकानीका क्रममा डिआइजी सुवेदीले ‘अनुसन्धानको नाममा कसैलाई पक्रेर टर्चर गर्न पनि नमिल्ने’ बताए । केही शंकास्पद मानिस प्रहरीको प्रत्यक्ष निगरानीमा भएकोसमेत उनले दाबी गरे ।

घटनास्थलबारे अलमलमै रहेको प्रहरी ‘आफन्तकोमा आइरहने मान्छे वा जानेबुझेकै मान्छेबाट घटना भएको निष्कर्षमा भने पुगेको छ । ‘बाहिरबाट आएर कसैले घटना गर्न सक्ने सम्भावना छैन,’ एक प्रहरी अधिकृत भन्छन्, ‘कुकुरले दिएको संकेत, स्थानीयहरूसँगको सोधपुछ तथा घटनास्थलमा प्राप्त प्रमाणहरूको आधारमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।’

घटनास्थलबाट दुई किलोमिटर टाढा खोचलेक प्रहरी चौकीमा बसेर डिआइजी सुवेदीले अनुसन्धान अगाडि बढाइरहेका छन् । स्थानीय विद्यार्थी र अभिभावकहरूले चौकीछेउमै तीन दिनसम्म आन्दोलन चर्काएका थिए । यसले अनुसन्धान प्रभावित भएको भन्दै प्रहरीले आन्दोलन रोक्न अनुरोध गरेपछि अहिले यहाँ सांकेतिक आन्दोलन मात्रै भइरहेको छ । आइतबार स्थानीयले सिट्ठी फुकेर एक घन्टा विरोध जनाए । जिल्ला सदरमुकाममा प्रशासनअगाडि मुखमा पट्टी बाँधेर मैनबत्ती जलाउँदै विद्यार्थीले विरोध जनाए भने जिल्लाका विभिन्न ठाउँमा समेत भागरथीको न्यायका लागि प्रदर्शनहरू जारी रहे ।

स्थानीयले मुख नखोल्दा अनुसन्धान लम्बिएको प्रहरीको भनाइ छ । बिस्तारै स्थानीयहरूबाट पनि सूचना आउन थालेकाले सफलतानजिक रहेको भन्ने पुरानै भनाइ भने प्रहरीले दोहो¥याइरहेको छ । ‘हामीले व्यक्तिविशेष र समूहविशेषमा अनुसन्धान अघि बढाइरहेका छौँ,’ एक प्रहरी अधिकृत भन्छन्, ‘भागरथीको हत्यापछि अधिकांश स्थानीयले मोबाइलमा कल र मेसेज हिस्ट्री डिलिट गर्ने गरेको भेटियो । यो देखेर हामी अचम्मित भइरहेका छौँ ।’ -नयाँ पत्रिकाबाट

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट