काठमाडौं: विश्वमा निःशुल्क रूपमा क्लाउड स्टाेरेज प्रदान गर्ने कम्पनीहरू धेरै छन् । तर यी सबै कम्पनीको सेवा उस्तै छैनन् । उनीहरुले प्रदान गर्ने नि:शुल्क क्लाउड स्पेस र अन्य फिचरले उनीहरुको सेवालाई समेत फरक बनाएको छ ।
आज हामी तपाईंलाई धेरै स्टोरेज प्रदान गर्ने ५ वटा उत्कृष्ट नि:शुल्क क्लाउड सेवा प्रदायकहरुको जानकारी दिने छौं । तर क्लाउड सेवा प्रदायकबारे थाहा पाउन तपाईंले सबैभन्दा क्लाउड स्टोरेजको आधारभूत कुरा बुझ्नुपर्ने हुन्छ ।
क्लाउड स्टोरेज के हो ?
क्लाउड स्टोरेजको अवधारणा एकदमै सजिलो छ । यो एउटा रिमोट डेटाबेस हो । सेवा प्रदायकको एउटा सर्भर भनेर तपाईंले बुझ्न सक्नुहुन्छ, जहाँ तपाईंका तस्वीर, भिडियो, डकुमेन्ट तथा अन्य फाइलहरु स्टोर भएर बस्दछ ।
ती फाइलमा एक्सेस पाउन तपाईंलाई लगइन इन्फो र इन्टरनेट कनेक्सनको आवश्यकता पर्दछ ।अब तपाईं सोच्नुहोला मेरा सबै डेटा पीसी वा आफ्नै डिभाइसमा किन स्टोर नगर्ने त ? यसका पछाडि धेरै कारण छन् । पहिलो भनेको त तपाईंको आफ्नै डिभाइसमा पनि स्पेस सीमित हुन्छ । यसैले तपाईंले डेटा सेभ गर्न थाल्नुभयो भने डिभाइसकै स्पेस भरिँदै जान्छ ।
अर्को कुरा भनेको डिभाइस हराएको वा चोरी भएको अवस्थामा डेटा रिकभर गर्ने कुनै सुविधा नै हुँदैन । तर यदि तपाईंको फाइल वा डेटा क्लाउडमा छ भने तपाईंले इन्टरनेट कनेक्सन गरी क्लाउड क्रेडेन्सियलमा लगइन गरेको खण्डमा जुनसुकै डिभाइसबाट आफ्नो डेटामा एक्सेस पाउन सक्नुहुन्छ ।
साथै डेटा हराएको अवस्थामा रिकभर गर्न तथा ती फाइललाई अरुसँग सजिलै शेयर समेत गर्न सक्नुहुन्छ । यसैबीच हामीले एन्ड्राेइड अथाेरिटीले प्रस्तुत गरेका ५ क्लाउड सेवा प्रदायकबारे जानकारी यहाँ दिएका छाैं ।
१. डेगो- १०० जीबीसम्मको निःशुल्क क्लाउड स्टोरेज
डेगोले तपाईंलाई १०० जीबीसम्म नि:शुल्क क्लाउड स्टोरेज प्रदान गर्दछ । तर यसमा धेरै सीमितता छन् । सबैभन्दा ठूलो सीमितता भनेको यसमा तपाईंले तीनवटा डिभाइसबाट मात्र फाइल अपलोड गर्न पाउनुहुन्छ ।
तर फाइल डाउनलोड गर्न तथा हेर्न यसमा त्यस्तो कुनै लिमिटेसन छैन । यसमा फाइल साइज भने ५१२ सम्मको हुन्छ ।
यसमा विज्ञापन भने प्रशस्तै आउने गर्छ । अकाउन्टलाई एक्टिभ बनाउन तपाईंले ९० दिनमा कम्तिमा एकपटक अकाउन्ट खोल्नुपर्ने हुन्छ । यो एकदमै युजरफ्रेन्ड्ली स्टोरेज हो ।
२०१२ मा स्थापना भएको स्विडेन बेस्ड यो कम्पनीको अर्को सब्सक्रिप्सन बेस सेवा पनि लिन सक्नुहुन्छ । यसका लागि भने तपाईंले २.९९ डलर प्रति महिना शुल्क तिर्नुपर्ने हुन्छ ।
२. मेगा- ५० जीबीसम्मको नि:शुल्क क्लाउड स्टोरेज
२०१३ मा स्थापना भएको न्युजिल्याण्ड बेस्ड कम्पनी मेगा नि:शुल्क स्टोरेज स्पेसको आधारमा दोस्रो स्थानमा आउँछ । यसले १५ देखि ५० जीबीसम्मको नि:शुल्क क्लाउड स्टोरेज प्रदान गर्दछ । तर मेगाले यो ५० जीबीको स्टोरेज प्रयोग गरेको पहिलो ३० दिनसम्म मात्र प्रदान गर्दछ ।
त्यसपछि पुन: यो स्पेस १५ जीबीमा झर्नेछ । तपाईंले डेस्क्टप एप इन्स्टल गरेर २० जीबीको अतिरिक्त र मोबाइल एपमा १५ जीबी स्टोरेज पाउन सक्नुहुन्छ ।
तर यी दुवै १८० दिनपछि एक्सप्यार हुन्छ । तपाईंको कुनै पनि साथीले यो सेवामा साइनअप गरेको खण्डमा तपाईंले पुनः १० जीबीको नि:शुल्क स्पेस पाउन सक्नुहुन्छ ।
तपाईंले अपलोड गर्ने फाइलको साइजमा मेगाले कुनै पनि किसिमको लिमिटेसन राखेको छैन । प्रत्येक ६ घण्टामा तपाईंले १ जीबीकै फाइल पनि अपलोड गर्नसक्नुहुन्छ । यसको पेड सेवा भने प्रति महिना ५.९१ डलर पर्दछ ।
३. गुगल ड्राइभ- १५ जीबीसम्मको नि:शुल्क क्लाउड स्टोरेज
अधिकांश मानिसहरुले प्रयोग गर्ने गुगल ड्राइभले १५ जीबीभन्दा धेरै नि:शुल्क स्पेस प्रदान गर्दैन । यो प्रयोग गर्न एकदमै सजिलो छ । जुनसुकै प्लेटफर्ममा उपलब्ध हुने यसमा कुनै पनि किसिमका विज्ञापन हुँदैनन् । तर यसको १५ जीबी स्पेस भने गुगलको ड्राइभ, जिमेल र फोटो सबैमा शेयर हुन्छ ।
जिमेलसँग इन्टिग्रेट हुने यो एपले ड्राइभमा इमेल अट्याचमेन्टहरुलाई पनि सेभ हुने अनुमति दिन्छ । यसबाट तपाईंले फाइललाई सजिलै शेयर गर्न तथा डिभाइसमा ब्याकअप समेत गर्न सक्नुहुन्छ । यसमा फाइल साइज हुँदैन । २०१२ मा अमेरिकादेखि सुरु भएको ड्राइभको पेड सर्भिसका लागि भने १.९९ डलर प्रति महिना भुक्तानी गर्नपर्छ ।
४. बक्स- १० जीबी नि:शुल्क क्लाउड स्टोरेज
बक्स एउटा लोकप्रिय क्लाउड स्टोरेज प्रदायक कम्पनी हो । यसमा तपाईंले १० जीबीसम्म नि:शुल्क स्टोरेज पाउन सक्नुहुन्छ । यसमा तपाईंले २५० एमबीभन्दा धेरै ठूला फाइल अपलोड गर्न सक्नुहुन्न ।
यसमा अन्य कम्पनीको भन्दा स्ट्याण्डर्ड फिचरहरु छन् । जस्तै तपाईंले फाइललाई मिलाउन विभिन्न नयाँ फोल्डर बनाउन सक्नुहुन्छ । केही क्लिकमै फाइल शेयर गर्न सक्नुहुन्छ । विभिन्न प्लेटफर्मबाट फाइल एक्सेस गर्न सक्नुहुन्छ । २००५ मा अमेरिकामा स्थापना भएको यो कम्पनीको पेड सेवा प्रति महिना ५ डलरमा उपलब्ध छ ।
५. पी क्लाउड- १० जीबीसम्म नि:शुल्क क्लाउड स्टोरेज
पीक्लाउड, बक्स र ड्राइभ जतिको लोकप्रिय छैन । तर यो एकदमै राम्रो सेवा प्रदायक हो । यसमा तपाईंले १० जीबीसम्म क्लाउड स्टोरेज नि:शुल्क पाउन सक्नुहुन्छ । यसमा अपलोड गर्न कुनै पनि फाइल साइज लिमिटेसन हुँदैन ।
यसमा धेरै राम्रा फिचरहरु पनि छन् । ३० दिनभित्र पुरानो अकाउन्टलाई रिकभर तथा एक्सेस गर्न सक्ने, विभिन्न डिभाइस तथा प्लेटफर्ममा फाइल एक्सेस तथा शेयर गर्न मिल्ने यसमा सुविधा छन् । यसमा ब्युल्ट इन भिडियो र अडियो प्लेयर्स पनि छन् । तपाईंलाई अझै धेरै स्टोरेज चाहिएको छ भने तपाईं मासिक प्लान र वान टाइम लाइफटाइम फीको स्किम पनि लिन सक्नुहुन्छ ।
२०१३ मा स्थापना भएको स्विटजरल्याण्ड आधारित यस कम्पनीको पेड सेवा भने ३.९९ डलर मासिकबाट सुरु हुन्छ । -टेकपानाबाट