शिलान्यासको २१ महिना बिते पनि डडेल्धुरा सेमी कभर्ड हल अलपत्र

डडेल्धुरा सेमी कभर्ड हल
प्रकाशित : :

डडेल्धुरा: अमरगढी नगरपालिका–४ खलङ्गामा ३२ वर्ष पहिले निर्माण भएको कभर्ड हल विसं २०७५ असार ३० मा भत्कियो। एक वर्षसम्म भत्किएको जीर्ण घर जस्ताको त्यस्तै रह्यो। पुनःस्थापित प्रतिनिधिसभा सदस्य एवं राज्यको निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति नीरादेवी जैरुले सोही ठाउँमा गत वर्ष ‘डडेल्धुरा सेमी कभर्ड हल’को शिलान्यास गरिन्।

कभर्ड हल शिलान्यासका क्रममा स्वयं जैरु, अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझा र तत्कालीन जिल्ला खेलकूद विकास समितिका अध्यक्ष राजेन्द्रबहादुर मगरले तत्काल कभर्ड हल निर्माण हुने बताएका थिए। तर, शिलान्यास भएको २१ महिनाभन्दा बढी हुँदासमेत कभर्ड हल अलपत्र परेको छ।

उक्त कभर्ड हलको लम्बाइ ३० मिटर, चौडाइ २० मिटर र उचाइ ३० फिटको हुने डडेल्धुरा जिल्ला खेलकूद विकास समितिले जनाएको छ। आर्थिक अभावले गर्दा ‘डडेल्धुरा सेमी कभर्ड हल’ अलपत्र परेको जिल्ला खेलकूद विकास समितिको कार्यालय डडेल्धुराका प्रमुख डम्बर भण्डारीले जानकारी दिए।

डेढ वर्षभित्र उक्त कभर्ड हल निर्माण गरिसक्ने लक्ष्यका साथ अगाडि बढेको भए पनि आर्थिक अभावले थप काम अगाडि बढ्न नसकेको भण्डारीको भनाइ छ।

पिलर निर्माण

राष्ट्रिय खेलकुद परिषद् ९राखेप०बाट उक्त कभर्ड हलका लागि तत्काल रु १० लाख निकासा गरिएको थियो तर उक्त रकमले कभर्ड हल निर्माणका लागि आठ वटा पिलर मात्रै ठडिएका छन्। राष्ट्रिय खेलकूद परिषद्बाट आएको रकमले जीर्ण कभर्ड हलको सामग्री सार्न र पिलर मात्रै ठडिएको खेलकुद विकास समिति डडेल्धुराले जनाएको छ।

पुनः निर्माण शुरु गर्न क्रमागतरूपमा बजेट निकासा हुनुपर्नेमा कोरोनाका कारण बजेट निकासा नहुँदा निर्माण गर्न समस्या भएको कार्यालय प्रमुख भण्डारीको भनाइ छ।

‘राखेपबाट बजेट निकासा भएको छैन। गत वर्ष राखेपबाट नै स्वीकृत भएर बजेट निकासा भएको थियो तर अहिले निकासा भएको छैन। त्यसैले भएर निर्माण अलपत्र छु, उनले भने, ुदुई रोपनी जग्गामा आठ पिलरसहितको फाउन्डेसन भएको छ। बजेट नभएर निर्माण ठप्प छ।’

के गर्दै छ नगरपालिका ?

देश सङ्घीयतामा गएपश्चात् स्थानीय तहमा बजेट जाने भएकाले स्थानीय सरकारले खेलकुद गतिविधि सञ्चालन गर्नुपर्ने हुन्छ तर कभर्ड हल भत्किएको महिनौँ हुँदासमेत अमरगढी नगरपालिकाको भने यतातिर ध्यान पुग्न सकेको छैन।

नगरपालिकाले खेलकूद गतिविधि सञ्चालन गर्न ध्यान नदिएको यहाँका खेलप्रेमी युवाको गुनासो छ तर उता नगरपालिकाले आर्थिक अभावको कारण सेमी कभर्ड हल निर्माण कार्य अलपत्र परेको जनाएको छ। कभर्ड हल अहिले नै बन्न सक्छ भनेर भन्न सक्ने अवस्था नभएको नगरप्रमुख ओझाको भनाइ छ। पेश गरिएको प्रस्ताव स्वीकृत भएपछि कभर्ड हल निर्माण हुने उनले बताए।

‘जनताका आवश्यकता असीमित छन्। स्रोत साधनको कमी छ। सङ्घीय सरकाले केही बजेट विनियोजन गरेको थियो र हामीले काम अगाडि बढाएका थियौँ”, उनले भने, यो वर्ष पनि कभर्ड हल निर्माणका लागि सङ्घीय सरकारलाई नै हामीले प्रस्ताव पेश गरेका छौँ।’

जिल्लाको महत्वपूर्ण र एकमात्र कर्भड हल भत्किँदा जिल्लाका ‘इनडोर’ खेलकुदका कार्यक्रमसमेत प्रभावित बनेका छन्। इनडोर खेल खेल्नका लागि हलको प्रयोग हुने हुँदा हाल जिल्लामा खेलकुद गतिविधि शून्य प्रायः बनेको छ। ब्याडमिन्टन, टेबलटेनिस, कराँते, बक्सिङ, चेसजस्ता भित्र खेलिने खेल बाहिर मैदानमा खेल्दा हावाले प्रभावित हुने हुँदा कर्भड हलको आवश्यकता पर्ने गरेको कराँते सङ्घ डडेल्धुराका अध्यक्ष हिक्मतबहादुर सिंहले बताए।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट