काठमाडौं: राष्ट्रिय सभा सांसद कोमल वलीले एमाले नेता रघुजी पन्तविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गर्नुभएको छ । वलीले जिल्ला अदालत काठमाडौंमा आज केहीबेर अगाडी पन्तविरुद्ध मुद्दा दायर गर्नुभएको हो ।
पन्तले सार्वजनिक कार्यक्रममा पिँडुला देखाएर वली सांसद भएको टिप्पणी गरेपछि त्यसको चर्को आलोचना भएको थियो । उहाँले अदालतले गर्ने निर्णय आत्मसात् गर्ने बताउनुभयो । भविष्यमा यस्तो अपमान र यौनिक हिंसा नहोस् भनेर मुद्दा दायर गरेको वलीले बताउनु भयो । मुद्दा दर्ताअघि ठूलो संख्यामा समर्थकहरुको उपस्थिति थियो ।
उहाले मुलुकी अपराध संहिता २०७४ को दफा ३०५, ३०६, ३०७ को आधारमा आफूलाई अन्याय परेको भन्दै मुद्दा दायर गर्नुभएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ को उपदफा १ अनुसार पन्तलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ ।
तर वलीले विद्युतीय वा अन्य आम सञ्चारका माध्यमबाट बेइज्जती गरेको हुँदा थप एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना माग गर्नुभएको छ । वलीले उचित क्षतिपूर्तिसहित मुद्दामा लागेको खर्चसमेत पन्तबाट भराउन पनि माग फिरादपत्रमा गर्नुभएको छ ।