कोरोना संकट: २ हप्ताअघिको भारतको स्थितिमा नेपाल !

अब अर्को भारत बन्ने विज्ञको प्रक्षेपण

गोदावरीका कोरोनाबाट मृत्यु भएका व्यक्तिको शवको जलाएर अन्त्येष्टि
प्रकाशित : :

काठमाडौं। कोरोनाभाइरसको संक्रमण बढिरहेका बेला विशेषज्ञहरुले नेपाल अब अर्को भारत बन्ने बाटोमा रहेको चेतावनी दिएका छन् । विशेषज्ञका अनुसार अहिले नेपालमा प्रति १ लाख जनसंख्यामा २० जना संक्रमित पाइन थालेका छन् । यो संख्या भारतमा २ हप्ताअगाडि दैनिक भेटिने संक्रमितको संख्याको लगभग बराबरीजस्तै हो । अघिल्लो सप्ताहान्तमा नेपालमा परीक्षण गरिएका कूल नमूनामध्ये ४४ प्रतिशत नमूनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

‘यदि हामीले पछिल्लो कोभिड संक्रमणलाई नियन्त्रण गर्न सकेनौं भने अहिले भारतमा जे भइरहेको छ त्यो नेपालको भविष्यमो डरलाग्दो पूर्वदृश्य हो’ नेपाल रेडक्रसमा अध्यक्ष नेत्र प्रसाद तिम्सिनाले एक वक्तव्यमा भनेका छन् । पछिल्लो समय नेपालमा भाइरसको डरलाग्दो प्रसारले नेपाल संकटको संघारमै पुगेको छ भन्ने देखाएको छ । सीएनएनको एक रिपोर्टमा नेपाल कोरोनाभाइरस संक्रमणको संकटको दिशामा भारतकै बाटोमा अघि बढिरहेको उल्लेख छ ।

नेपालको स्वास्थ्य प्रणाली नाजुक छ । यहाँ भारतको तुलनामा प्रतिव्यक्ति कम डाक्टर उपलब्ध छन् र भारतको तुलनामा खोप दिने तर पनि कम छ । नेपालमा परीक्षण गरिएका नमूनामा पोजेटिभ देखिने दर उच्च हुनुले यहाँ पर्याप्त मात्रामा परीक्षण नभएको संकेत गर्छ । यहाँ समूहमा सार्वजनिक कार्यक्रम, चाडपर्वहरु, राजनैतिक भेला र विवाह लगायतले भाइरस संक्रमण फैलिन सहयोग गरे । त्यसमाथि सरकारका काम सुस्त गतिमा अगाडि बढे ।

‘परिस्थिति दिन प्रतिदिन खराब हुँदै गइरहेको छ र भविष्यमा यो नियन्त्रणबाहिर जान सक्छ’ नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समिर अधिकारीले सोमबार भने । नेपालले सीमामा कडाइ गरेको छ र राजधानीसहित संक्रमण बढी भएका क्षेत्रमा लकडाउन गरेको छ तर विशेषज्ञहरुले यो पर्याप्त नहुने डर मानिरहेका छन् किनकि भाइरस राजधानीदेखि सगरमाथा बेस क्याम्पसम्म फैलिइरहेको छ ।

केवल १ महिना अगाडिसम्म नेपालमा प्रतिदिन १ सय केसहरु देखिएका दिए जुन अहिले प्रतिदिन ८ हजार ६ सयभन्दा धेरै भएको छ । केहीले यसको पछाडि भारतमा फैलिइरहेको संक्रमणलाई दोष दिन्छन् किनकि नेपाल र भारतबीच लामो र खुला सीमा जोडिएको छ । नेपाली र भारतीयलाई एक अर्काको देशमा जान पासपोर्ट वा परिचय पत्र देखाउनु जरुरी छैन र थुप्रै नेपाली र भारतीय एक अर्काको देशमा रोजगारी र व्यवसाय गर्छन् ।

अधिकारीका अनुसार पछिल्ला हप्तामा कैयौं भारतीय नेपालमा स्वास्थ्य सेवा पाउने वा नेपालबाट तेस्रो देशमा जाने आशामा नेपाल आएका थिए । ‘दुई देशबीच आवतजावत रोक्नु निकै कठिन छ’ उनले भने । पछिल्ला केही दिनयता नेपालले यी नियममा कडाइ गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार नेपाली नागरिकहरुले अहिले सीमामा भएका ३५ नाकामध्ये १३ वटा नाकाबाट मात्र भारतबाट नेपाल आउन पाउँछन् ।

यसरी आउनेहरुले सीमामा परीक्षण गराउनुपर्ने बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टले बताए । उनका अनुसार नेगेटि रिपोर्ट आएकाहरु घर जान पाउँछन्, पोजेटिभ आउनेहरु क्वारेन्टाइन वा अस्पताल जानुपर्छ । तर, जनस्वास्थ्य अनुसन्धान वैज्ञानिक डा. समीरमणि दीक्षितका अनुसार यी नियम निकै ढिलो आए र भाइरस पहिल्यै देशभित्र फैलिइरहेको छ ।

अप्रिल महिनाको सुरुवातसँगै नेपालीहरु ठूलो संख्यामा धार्मिक कार्यक्रममा सहभागी भए । यी कार्यक्रम नेपालभित्र र सीमापारी भारतमा भएका थिए । भारतमा नेपालीहरु कुम्भ मेलामा गंगा स्नानको लागि सहभागी भए । यसरी सहभागी हुनेमा पूर्वराजा ज्ञानेन्द्र शाह र रानीकोमल पनि थिए जो नेपाल फर्किएपछि परक्षिणका क्रममा संक्रमित पाइए । यही समयमा हजारौं नेपालीहरु राजधानीमा विभिन्न जात्रा र धार्मिक उत्सव मनाउन जम्मा भए ।

अप्रिल २४ मा नेपालमा २४ सयभन्दा धेरै केसहरु पाइए । यही दिन प्रधानमन्त्री ओली धरहराको उद्घाटन गर्न भीडभाडका साथ उपस्थित भए । ५ दिनपछि अप्रिल २९ का दिन केसहरु बढेर ४८ सय पुगेका बेला सरकारले राजधानीमा २ हप्ताको लकडाउन लागू गरायो । त्यसको भोलिपल्ट स्वास्थ्य मन्त्रालयले अवस्था अनियन्त्रित भएको स्वीकार गर्यो ।

‘देशको कमजोर स्वास्थ्य प्रणालीका बावजुद जब संक्रमणका केसहरु बढ्न थाले, बिरामीलाई अस्पताल र बेड उपलब्ध गराउन कठिन भएको छ’ मन्त्रालयले अप्रिल ३० मा जारी गरेको वक्तव्यमा भनिएको छ । सोमबार प्रधानमन्त्री ओलीले राज्यको प्रयासका बावजुद भाइरस संक्रमण अत्याधिक बढेको भन्दै उनले विदेशी समुदायसँग सहयोगको अपिल गरे । तर, सरकारले महामारी नियन्त्रणमा ढिलासुस्ती गरेको भन्दै देशभित्र चर्को आलोचना भइरहेको छ । -डीसी नेपालबाट साभार

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट