आज हाम्रा अघि धेरै धर्महरू छन् । इसाई, जैन, हिन्दु, मुस्लिम, सिख, बौद्ध, पारसी धर्म लगायत धेरै धर्म हाम्रो सामु छन्। यी धर्मका जुन प्रणेता भए, महापुरुष र अवतारी पुरुष भए सबैले आफ्नो जीवन भित्र त्यस अनुभूतिलाई प्रतिपादन गरे।
कुरुक्षेत्रको मैदानमा भगवान् कृष्णले कर्मको एक महान् सिद्धान्तको उपदेश दिइरहनुभएको थियो। साथै उहाँले अर्जुनलाई अनुभूति पनि दिइरहनुभएको थियो।अर्जुन आफ्नो जीवनमा पहिलो पटक त्यस विराट स्वरूपको अनुभव गरिरहेका थिए। त्यस क्रममा श्रीकृष्णले विवेचन गर्दै अर्जुनलाई सिद्धान्तहरू बताइरहनु भएको थियो। त्यस सिद्धान्तको पछि-पछि एक अनुभूतिको आधारशिला पनि दिइँदै थियो। जुन अनुभूतिको अघि अर्जुन नतमस्तक हुँदै प्रार्थना गर्छन्,’प्रभु मैले तपाईँलाई यादव भने, साथी भने यसको लागि मलाई क्षमा गर्नुहोला किनभने तपाई त गुरुहरूको पनि गुरु हुनुहुन्छ ।’
तपाई पुरै संसारका गुरुहरूको पनि गुरु हुनुहुन्छ भन्दै अर्जुन द्वारिकाका शासक द्वारिकाधीश श्रीकृष्णलाई यो उपाधि दिइरहेका थिए। यहाँ विचार गर्नुपर्ने कुरा यो छ की यस उपाधि दिनुको पछाडि, अर्जुनले आफ्नो जीवनमा कुन चाहिँ त्यस्तो अनुभूति प्राप्त गरेका थिए। हो अर्जुनले प्राप्त गरेको त्यो अनुभूति नै धर्मको सार तत्त्व हो ।
त्यही अनुभूति प्राप्त गरेपछि गुरु नानकदेवले तिम्रो-तिम्रो भनेर आफ्नो दोकानको सबै सामान, अन्नलाई जनता जनार्दनमा बाँडे ।
महात्मा बुद्धले सोही अनुभूतिलाई प्राप्त गर्नको लागि संसारका सबै वैभवलाई त्यागे। बोद्धवृक्षको मुनि त्यस अनुभूतिलाई प्राप्त गरेपछि उनले भने,’यो संसार क्षणिक छ, निर्वाण प्राप्तिको लागि आत्मा साधना गर ।’
सन्त ईसामसीहले त्यस अनुभूतिलाई प्राप्त गरेपछि भने ‘भगवान् जुन हुनुहुन्छ वहाँ आत्मा रूपमा हुनुहुन्छ, जो उहाँको पूजा गर्न चाहन्छ, उनीहरूले आत्मामा नै, सत्यमा नै उहाँको पूजा गर्नुपर्छ ।’
महावीर स्वामीले त्यस अनुभूतिलाई प्राप्त गरेर जब हिँड्न थाले तब यति आनन्द मग्न भए की बाटोका काँडाहरूमा अल्झिएर उनका वस्त्रहरू च्यातिए, उनी निर्वस्त्र भए तर पनि उनी हिँडिरहे। मानिसहरू सामु आफ्नो अनुभूतिको प्रचार गरे ।
हजरत मुसा पहाडमा गए, त्यहाँ बसेर जब उनले परमात्माको, खुदाको अनुभूति एक जल्दै गरेको झाडीको रूपमा, प्रकाश रूपमा गरे तब त्यस अनुभूतिलाई प्राप्त गरेपछि उनी पहाड मुनि आए र त्यसको उनले प्रचार गरे ।
तपाई कुनै पनि धर्मको गहिराइमा जानुहोस् तब तपाई देख्नुहुनेछ कि त्यस धर्मका प्रणेता, ती महापुरुषहरूले आफ्नो जीवनमा विशेष अनुभूतिलाई प्राप्त गरेका थिए। त्यसै अनुभूतिको प्रचार गर्नको लागि उनीहरू जनमानसमा निस्किए । यदि उनीहरूले पनि सो अनुभूतिलाई प्राप्त नगरेको भए उनीहरू पनि सामान्य मानिस सरह हुन्थे ।
यस कारण धर्मको जुन आधारशिला छ त्यो आध्यात्मिक अनुभूति हो । जसलाई आध्यात्मिक अनुभूति प्राप्त हुन्छ उसले धर्मको गूढ रहस्यलाई बुझ्दछ ।