शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैरकानुनी काम गर्नेलाई सेनाको कारबाही

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज
प्रकाशित : :

कञ्चनपुर: कोरोना भाइरसको दोस्रो लहरले मुलुक आक्रान्त बनेका बेला बितेको दुई महिनामा कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भने चोरी शिकारी गर्ने क्रम रोकिएको छैन।

कोरोना कहरबीच निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको देवीदल गणको सक्रियातामा यहाँ गत वैशाख र जेठ महिनामा मात्रै निकुञ्जमा घाँस, दाउरा र वन्यजन्तु चोरी शिकारीमा संलग्न एक हजार २७ जनालाई कारवाहीको दायरामा ल्याएको छ।

निकुञ्जको चौतर्फीरुपमा सेनाको गुल्म तथा पोष्ट तैनाथ रहेको यहाँ वैशाखमा ३९६ जना र जेठ महिनामा ६३१ जना पक्राउ गरिएको गणले जनाएको छ। सेनाका अनुसार सोमध्ये छ जनालाई वनपैदावार र वन्यजन्तु चोरी, शिकारी मुद्दामा कारवाही अघि बढाइएको छ।

सेनाले निकुञ्ज प्रशासनले बन्देज लगाएका क्रियाकलाप नियन्त्रणका लागि निकुञ्जभित्र र मध्यवर्ती क्षेत्रमा नियमित गस्ती परिचालन गर्दै आएको छ। “धेरैजसो घाँस, दाउरा लुकिछिपी चोरी गर्ने पक्राउ परे”, सैनिक स्रोतले भन्यो, “घाँस, दाउरा चोरीमा संलग्नलाई निकुञ्ज प्रशासनले जरिवाना गरेर छाड्यो।”

सेनाले निकुञ्जमा चोरी, शिकारी नियन्त्रण र वन्यजन्तुको सुरक्षार्थ यहाँ हरेक वर्ष ‘अप्रेशन महा–हण्ट’ सञ्चालन गर्दै आएको छ। यसपटक शुक्लाफाँटामा महाण्टको सातौँ संस्करण गत पुसदेखि जेठ मसान्तसम्म सञ्चालन गरिएको सेनाले जनाएको छ।
गत वर्ष कोरोना कहरमा पनि सेनाले एक हजारभन्दा बढीलाई कारवाहीको दायरामा ल्याएको थियो। शुक्लाँफाटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रवीन चौधरीले लकडाउन अवधिमा सेना र निकुञ्ज प्रशासनको संयुक्त गस्ती टोली खटिएको बताए।

“ठाडो कारवाहीमा रु ५०० देखि एक हजारसम्म जरिवाना हुन्छ”, उनले भने, “वन्यजन्तु तस्करी र चोरी, शिकारीलगायतका ठूला घटनाका अभियुक्त अहिले पनि कारवाहीको दायरामै छन्।”

विश्वमै दुलर्भ बाह्रसिङ्गाको झुण्ड रहेको शुक्लाफाँटामा १६ वटा पाटे बाघ, १७ वटा गैँडा, मृग, ४०० भन्दाबढी प्रजातिका चराचुरुङ्गीको बासस्थान हो। ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जभित्र नेपालका संरक्षित क्षेत्रमध्ये सबैभन्दा ठूलो ९५५ वर्गकिलोमिटर० फैलिएको घाँसे मैदान पनि रहेको छ । लकडाउन अवधिमा निकुञ्ज भ्रमणमा समेत रोक लगाइएको थियो।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट