✍️ वीरेन्द्र शाह
ए प्रिय मान्छे
अब त रोकियो होला
तिम्रो यात्रा ,
तिमी पुग्यौँ होला
समुद्रमा
र
समुन्द्री छालहरूले
तिमिलाई पुर्यायो होला ,
बिरानो ठाउँको
कुनै समुन्द्री किनारामा !
ए मान्छे…..
महाकाली नदिको माल घाट देखि
समुन्द्र सम्मको तिम्रो यात्रा
निकै पिडादायी रह्यो होला हगि ?
असङ्ख्य पल्ट चट्टानहरूमा
तिम्रो टाउको ठोकियो होला ,
यात्रामा भेटिएका अनेकौँ
नदिका छालहरूले
कहिले वारि त कहिले पारी पुर्यायो होला ,
अनि
कुनै किनारामा थकाइ मेट्न नदिई
नदिमा आएको उर्लँदो भेलका सबै छालहरूले
आफै सङ्ग बगाएर लग्यो होला ,
उफ्…..!
छालहरू सङ्गको तिम्रो पैठे जोरी !
तिम्रो प्रियसीको
आङ्गको एकसरो गुन्यु चोलो फेर्ने ,
र
लालावालाहरूको सुनौलो भविष्य निर्माण गर्ने ,
मुटु भित्रको एक अञ्जुली सपना पनि
मुटु छियाछिया भएर
समुद्रमा तैरिरहेको त होला ,
हैन र ?
तिम्रो न्यायको लागि
लडिरहेका ,
तिमी जस्तै
एक अञ्जुली सपना
मुटुमा बोकेका ,
हामी सडकका
भुईँ मान्छेहरू ,
तिम्रो प्रियसी
तिम्रा बा-आमा
तिम्रो लालाबाला
र
हिमाल-पहाडका
खोचहरूमा बस्ने ,
सबै सबै मान्छेहरू
तर्फबाट ,
तिमि समुद्रको मान्छेलाई
धेरै धेरै सम्झना छ है ,
प्रिय जय सिंह धामी !