धनगढी : भारतसँग सीमा जोडिएको बैतडीका सबै स्थानीय तहका विद्यालय आजदेखि सञ्चालन भएका छन्।
कूल ६ गाउँपालिका र ४ नगरपालिका रहेको जिल्लाका सबै स्थानीय तहका विद्यालयमा भौतिक रुपमै पठनपाठन सुरु भएको हो। दोगडाकेदार गाउँपालिकाका विद्यालय सञ्चालनमा आएसँगै जिल्लाका सबै स्थानीयतहमा पठनपाठन सुरु भएको हो। स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालयमा भौतिकरुपमै पठनपाठन कार्य सञ्चालन गरिएको दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटस्थित सनातन धर्म माविका प्रधानाध्यापक वलदेवनाथले जानकारी दिए।
विद्यालयमा मास्क अनिवार्य गरिएको छ । स्यानिटाइजर र साबुनपानीले हात धुने व्यवस्था छ । उहाँले भन्नुभयो,“कक्षा कोठामा पनि विद्यार्थी बीच सकेसम्म सामाजिक दूरी कायम गरेका छांै तर विद्यार्थी बढी र कक्षा कोठा कम भएकाले त्यसमा कठिनाई भएको छ ।” भौतिक रुपमै पठनपाठन कार्यमा सहभागी हुन पाउँदा विद्यार्थी खुसी भएका छन्। मेलौली, पुर्चौडी, दशरथचन्द, पाटन नगरपालिका तथा डिलाशैनी, सुर्नया, शिवनाथ, पञ्चेश्वर र सिगास गाउँपालिकाका विद्यालयमा यसअघि नै पठनपाठन सुरु भइसकेको छ। भारतसँग सीमा जोडिएको बैतडीमा हालसम्म कोरोनाका कारण १८ जनाको मृत्यु भइसकेको छ। हाल यहाँ २० सक्रिय सङ्क्रमित छन्।