काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले हिजो १० वटा इजलास तोकेपनि सहकर्मी न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेक अरु इजलास बहिष्कार गरे ।
प्रधानन्यायाधीश राणाले आफ्नो एकलसहित न्यायाधीशहरूको संयुक्त इजलास पनि तोक्नुभएको थियो । तर, न्यायाधीशहरू बन्दी प्रत्यक्षीकरणको एउटा बाहेक अरु मुद्दाको सुनुवाइमा सहभागी भएनन् ।
न्यायाधीशहरूको बहिष्कारकैबीच प्रधानन्यायाधीश राणाले भने आफ्नो इजलासमा मुद्दाको सुनुवाइ गर्नुभयो । यही कात्तिक ८ देखि आफ्नो राजीनामा माग गर्दै सर्वोच्चका १९ न्यायाधीशले आफूले तोकेको इजलास बहिस्कार गरेपछि राणा आफैंले मात्र सुनुवाइ गर्नुभएको हो ।
उहाँले हिजो एकल र संयुक्त गरी १० वटा इजलास तोकेपनि बन्दी प्रत्यक्षीकरणको एउटा मात्र मुद्दा पेसीमा चढेको थियो । न्यायाधीश तेजबहादुर केसी र मनोज शर्माको इजलासमा बन्दीको एउटा मुद्दा थियो ।
उक्त मुद्दा सुनुवाइ गरेपनि न्यायाधीशहरूले अन्य मुद्दाको सुनुवाइ भने बहिष्कार गरे । प्रधानन्यायाधीश राणाले भने आफ्नो इजलासमा आफैंले तोकेका सातमध्ये ६ वटा मुद्दा सुनुवाइ गर्दै आदेश गर्नुभएको छ ।