धनगढी : पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेजीको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल आयल निगमको धनगढी चटकपुर स्थित कार्यालय अगाडी नारा जुलुस सहित प्रदर्शन गरेको छ ।
मंगलबार नेपाल बन्द गरेको नेकपाले दिउसो पेट्रोलियम पदार्थ लगायतका दैनिक उपभोग्य बस्तुमा दिनानुदिन बढ्दै गइरहेको मूल्य वृद्धिको खारेजीको माग गर्दै र बन्दको प्रभा बढाउन नेपाल आयल निगम लिमिटेड धनगढी अगाडी नारा जुलुस सहित प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा नेकपाले, मूल्य वृद्धि खारेज गर, बढ्दो महँगी नियन्त्रण गर, आयल निगमका चोरहरू मुर्दावाद, देश बेच्न पाइँदैन दलाल सरकार चाहिँदैन लगायतका नारा लगाएको थियो ।
यस्तै, विप्लव नेकपाले गरेको नेपाल बन्दको प्रभाव सुदूरपश्चिम प्रदेश भर परेको छ । बन्दले यहाँको जनजीवन प्रभावित भएको छ ।
धनगढीसहित प्रदेशका सबै जिल्लामा बिहानैदेखि सवारी साधन नचलेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए । बजार तथा शैक्षिक संस्था पनि बन्द रहेका छन् ।
लामो तथा छोटो दूरीका सवारी साधन नचलेपछि काम विशेषले गन्तव्य जाने यात्रुहरू मर्कामा परेका छन्। सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्द आह्वान गरेको हो।