काठमाडौँ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने भनिएको मतदान एक घण्टापछि सुरु हुने भएको छ । बिहान ८ बजे सुरु हुने भनिएको मतदान एक घण्टा ढिलो हुने महाधिवेशन मिडिया सेन्टर संयोजक डा. सुरेश आचार्यले जानकारी दिएका छन्। प्रतिनिधि भने मतदानका लागि लाइन लाग्न थालेका छन् ।
१३ पदाधिकारीसहित १३४ नयाँ कार्यसमिति सदस्य चयनका लागि आज मतदानको कार्यतालिका छ । जसका लागि भृकुटीमण्डप ५१४ र राष्ट्रियसभा गृह र पुलिस क्लबमा ३०० बुथ निर्माण भएको छ ।सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र सदस्यसहित एक सय ३४ पदका लागि भइरहेको निर्वाचनमा चार सय ८६ प्रतिस्पर्धामा छन्। दुई उपसभापतिका लागि सात जना, दुई महामन्त्रीका लागि ६ र आठ सहमहामन्त्रीका लागि १९ नेताले उम्मेदवारी दिएका छन्।
त्यस्तै, एक सय २१ सदस्यका लागि चार सय ४९ जना चुनावी मैदानमा छन्। सभापतिमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धा गर्दै छन् । देउवा–कृष्ण सिटौला समूह पहिलो चरणबाटै विजयी हुनेमा आशावादी देखिनु भएको छ भने छुट्टाछुट्टै समूह बनाएर निर्वाचनमा होमिएका कोइराला, सिंह र निधिले निर्वाचन दोस्रो चरणमा पुर्याउने रणनीतिमा जुटेका छन् ।