धनगढी : नेकपा एमालेका केन्द्रीय सचिव एवम् पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले जारी राजनीतिक गतिरोधका बारेमा प्रेस जगतले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् ।
प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिले नेकपा एमालेको १० औँ अधिवेशनमा निर्वाचित भएका केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरूको सम्मानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
नेकपा एमालेका केन्द्रीय सचिव समेत रहेका भट्टले ओली नेतृत्वको सरकार बहिर्गमन भएपछि अहिलेको सरकारले गरेका काम कारबाहीको बारेमा मिडियामा कतै पनि चर्चा नभएको प्रति ब्यङग्य गरे ।
“अहिले मिडिया जगतले पनि खासै केही बोलेको देखिन्न,सायद यो सरकारले गरिरहेको काम-कारबाही मिडियालाई पनि मन परेको छैन,” भट्टले भने, “यसलाई पनि मैले सकारात्मक रुमपा लिएको छु । सरकारले गरेको काम मिडियालाई पनि मन परेको छैन, त्यसैले होला मिडियाले पनि बोल्न लेख्न छोडे ।”
सचिव भट्टले प्रेस चौतारी निकट पत्रकारहरूले पार्टीलाई सही सुझाव दिनुपर्ने बताए । एमाले पार्टीले गरेका विकास निर्माण लगायत राम्रा कामलाई तल्लो तहका जनताले कुन रूपमा बुझेका छन् भन्ने कुराको यथार्थ बोध गराउने दायित्व प्रेस चौतारी आबद्ध पत्रकारको रहेको भट्टको भनाइ थियो । “जनताले हाम्रो कामलाई कसरी ग्रहण गरेका छन् त ? त्यो यथार्थ हामीलाई जानकारी गराउने काम तपाईहरुको हो,” उनले भने ।
यस्तै सचिव भट्टले सुदूरपश्चिम प्रदेशमा एमालेको सङ्गठनलाई कसरी मजबुत एकताबद्ध बनाउने भनेर सबैले लाग्न आवश्यक रहेको बताए ।
कार्यक्रमलाई पार्टीका स्थायी कमिटी सदस्य कर्ण थापा , सुदूरपश्चिम अध्यक्ष दामोदर भण्डारी, लिलाधर भट्ट, पोलिटब्युरो सदस्य नारदमुनी राना, लीला भन्डारी लगाएतले सम्बोधन गरेका थिए । प्रेस चौतारी नेपाल सुदुरपश्चिम प्रदेशका इन्चार्ज हेमन्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य सह इन्चार्ज गोबिन्द रोस्याराले गरेका थिए । कार्यक्रमको सन्चालन प्रदेश महासचिब शिवराज भट्टले गरेका थिए ।