धनगढी : कैलालीमा आज विहान मृत अवस्थामा फेला परेका युवकको सनाखत भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–५ को जाँई–शिवनगर सडकस्थित केराबारीमा विहान मृत भेटिएका युवक भारतीय नागरिक भएको खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ती मृत भेटिएका युवक कुल्दीप गुप्ता रहेको बुझिएको छ । आज विहान भेटिएको शव भारतको उत्तरप्रदेशस्थित शाहजापुरा बस्ने ४२ वर्षीय कुल्दीप गुप्ताको रहेको खुलेको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले जानकारी दिए ।
उनी हिजो मात्रै भारतबाट धनगढी आएको बुझिएको उनले बताए । उनको घाँटी र गालामा चोटपटक लागेकाले हत्या भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
डिएसपी जोशीका अनुसार शवको पोष्टमार्टम भइरहेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको शव बिहान १० बजे जाँई–शिवनगर सडकस्थित केराबारीमा भेटिएको थियो ।