आज विश्व मिर्गौला दिवस : ‘मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने नाराका साथ देशभर मनाइँदै

मिर्गाैला
प्रकाशित : :

काठमाडौँ :  आज विश्व मिर्गौला दिवस हो । ‘मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने नाराका साथ देशभर चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइँदै छ । कार्यक्रममा अंगदान र अंग प्रत्यारोपण गरेका व्यक्ति पनि अन्य स्वस्थ व्यक्ति जत्तिकै स्वस्थ हुन सक्छन् भन्ने सन्देश दिइने छ ।

दिवसका अवसरमा अहिले काठमाडौँको शान्तिबाटिकाबाट मिर्गौला पदयात्रा निस्किएको छ । पदयात्रा दशरथ रङ्गशालासम्म पुगेर अंग प्रत्यारोपण गरिएका व्यक्ति, अंगदाता, डाक्टर, कलाकार, पत्रकार, समाजसेवीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिने छ । सन् २००६ देखि हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार विश्व मिर्गौला दिवस मनाउन थालिएको हो ।

नेपालमा हरेक दिन मिर्गौला रोगका बिरामी बढिरहेका छन् । अस्वस्थ्य खानपान र जीवनशैली तथा नियमित स्वास्थ्य परीक्षण गराउने बानी नहुँदा मिर्गौला रोगका बिरामी थपिँदै गएका डाक्टरले बताएका छन् । मिर्गौला रोग लाग्न नदिन बेलाबेलामा परीक्षण गर्नुपर्ने वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठले बताए ।

कम्तीमा वर्षमा एक पटक पिसाबको परीक्षण गर्दा मिर्गौलाको अवस्थाबारे थाहा हुने उनको भनाइ छ । स्वास्थ्यमा ध्यान नदिँदा मिर्गौला खराब भएको पत्तै नहुने र पछि अवस्था जटिल बनिसकेपछि मात्र उपचारमा जाने प्रवत्ति रहेकाले पनि समस्या बढ्दै गएको डाक्टर श्रेष्ठले बताए ।

नेपालमा हरेक वर्ष ३ हजार पाँच सय जनाको मिर्गौलामा खराबी आउने गरेको तथ्याङ्क छ । नेपालको कुल जनसङ्ख्यामध्ये १० प्रतिशतमा कुनै न कुनै रुपमा मिर्गौला रोग लाग्ने गरेको पाइएको छ । खानपान, जीवनशैली, उच्च रक्तचाप, मधुमेहलगायतका समस्याले गर्दा नेपालमा पछिल्लो समय मिर्गौला रोगी बढेको डा. श्रेष्ठले बताए ।

बिहान उठ्ने बित्तिकै पानी पिउन, हिँडडुल गर्न, बेलैमा सुत्न र उठ्न, धेरै गुलियो तथा चिल्लो नखान, उचाई अनुसार तौल व्यवस्थापन गर्न पनि डाक्टरको सुझाव छ । सरकारले मिर्गौला रोग लागेका विपन्न बिरामीलाई निःशुल्क डायलाइसिस, आवश्यक उपचार तथा औषधिका लागि एक लाख रुपैयाँ सहयोग गर्दै आइरहेको छ ।

स्वास्थ्य मन्त्रालयले मिर्गौलाको उपचार र डायलाइसिसका लागि ७० वटा अस्पताललाई सूचीकृत गरेको छ । मिर्गौला खराब भएपछि हप्तामा दुईदेखि तीन पटक नियमित डायलाइसिस गरी रगत सफा गर्नुपर्ने वा आफन्तको मिर्गौला प्रत्यारोपण गनुपर्ने हुन्छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट