धनगढी : आज देशभर मौसम बदली भई काठमाडौं उपत्यकासहित केही स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले (शुक्रबार बिहान) गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र बागमती प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।
आज दिउँसो मौसम देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
यस्तै राति पनि मौसम देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ र मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार पानी पार्ने प्रणाली मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानभन्दा दक्षिण छ।
पानी पार्ने प्रणाली नेपालभन्दा टाढा भएकाले छिटपुट वर्षा हुने, एक दुई स्थानमा भारी वर्षा पनि हुने यद्यपि तुलनात्मक रूपमा कम वर्षा हुने मौसमविदले जानकारी दिएका छन्।
‘अहिले ३-४ दिन अगाडिको जस्तो झरी र देसैभरी वर्षा हुँदैन, एक दुई स्थानमा छिटपुट वर्षा हुन्छ। पानी नै नपर्ने भन्ने हुँदैन’, मौसमविद हिरा भट्टराईले जानकारी भने।
भट्टराईका अनुसार आज दिउँसोतिर काठमाडौं उपत्यकामा र आसपासका क्षेत्रमा वर्षा हुने सम्भावना छ।
आज प्रदेश १, मधेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जानकारी दिएको छ।
यसका साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध छ।
भोलि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै मधेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आइतबार पनि मधेश, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।














