किशोर पोखरेल, सिन्धुली : २०२२ को विश्वकप क्रिकेट नजिकिँदै गर्दा श्रीलङ्काले घुमाउरो रूपले आफ्नो दाबेदारी प्रस्तुत गरेको छ । टोली हेर्दा मध्यम खालको भए पनि खेल भने आफ्नो ओजनभन्दा माथिको प्रस्तुत गर्न सक्नु श्रीलंकाको एउटा मुख्य पाटो हो । जब-जब ठुला टुर्नामेन्टहरु आउँछन्, तब श्रीलंकाको खेलाडीहरू टिम वर्क गर्न माहिर छन् । यो उनीहरूको पहिलादेखिकै एउटा नियमजस्तै भइसकेको छ ।
हिजो भर्खरै मात्र सम्पन्न एसिया कपमा पनि त्यही देखियो । टुर्नामेन्ट सुरु हुनुभन्दा अगाडि श्रीलङ्का च्याम्पियन बन्ला भनेर उनीहरूको समर्थकले पनि सोचेका थिएनन् होला । भनिन्छ, क्रिकेट भनेको भाग्य र अनिश्चितताको खेल हो, जे पनि हुन सक्छ, जसले पनि जित्न सक्छ । सोही ठहरियो यो पटक । मध्यम खालको श्रीलङ्काले उच्च स्तरको खेलाडी भएको भारत र पाकिस्तानजस्तो टिमलाई पन्छाउँदै ट्रफी उचाल्यो ।
टुर्नामेन्टको सुरुवात पनि श्रीलंकाको खासै गतिलो भने थिएन । अफनिस्तानसँगको हारबाट सुरु भएको उसको यात्रा अन्तिममा पाकिस्तानजस्तो ठुलै दाबेदार टोलीलाई हराएर ट्रफी घर ल्याउँदै टुङ्गियो ।
यो पटकको एसिया कप मात्र हैन, जहिलेको पनि ठुला टुर्नामेन्टमा श्रीलङ्का सानो सम्झिन नमिल्ने टोली हो । चाहे २००७/२०११ को एक दिवसीय विश्वकप फाइनल पुग्दाको क्षण होस् या २०१४ मा टी-ट्वान्टी विश्वकप जित्दाको क्षण होस्, श्रीलङ्काले जहिल्यै पनि आफ्नो क्षमताभन्दा माथि उठेर खेल्ने गरेको छ ।
देशमा भएको आर्थिक मन्दी तथा अस्थिर राजनीतिक घटनाक्रम सबैलाई एकै छिन् पाखा लगाउँदै यो युवा क्रिकेट टोलीले भने जनताको ओठमा हाँसो ल्याउने काम गरेको छ । २०२२ को विश्वकप क्रिकेट पनि अब धेरै टाढा छैन । यस्तै स्तरको खेल पस्किनी हो भने त्यो ट्रफी पनि श्रीलङ्काले आफ्नो पोल्टामा नपार्ला भन्न सकिन्न । झट्ट हेर्दा ठुलो नामका खेलाडीहरू नभएको श्रीलंकाली टोली एउटा साइलेन्ट किलरको रूपमा अगाडि बढेको छ ।