धनगढीः पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवले देशको पछिल्लो अवस्थाप्रति गम्भीर टिप्पणी गर्नु भएको छ।
सोमवार धनगढीमा भएको विशाल नागरीक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आज देश सबैतिर उजाडको अवस्थामा पुगेकोमा दुःख व्यक्त गर्नु भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दे उहाँले आम जनमानसलाई सोच्ने बेला आयएको बताउनु हुँदै, “अब कुन के कस्तो राष्ट्रिय दृष्टिकोण हामीले लिने ? कस्तो प्रणाली पद्धति र परिपाटी हामीले अंगाल्ने ? सोचौं गहिरिएर सोचौं, अझ दिलै देखि सोचौं, नेपाली भएर सोचौं, नेपाल आमाको हावापानी माटो र मुटुलाई छोएर सोचौं देशभन्दा ठूलो अरु केही हुँदैन ।” भन्दै गहिरिएर सोच्न आग्रह समेत गर्नु भएको छ ।

पुर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट धनगढीमा बोलेको सम्बोधनको पुर्णपाठ जस्ताको त्यस्तै :
उपस्थित महिला तथा सज्जनहरू,
तपाईहरुले आयोजन गर्नु भएको यो समारोह आफैमा एउटा संयोजनकारी महत्वपूर्ण काम हो । यहाँ आएर मलाई दुई चार शब्द बोल्ने मौका दिनु भएकोमा आयोजकहरु र उपस्थित सुदूरपश्चिमी भेगका सबैमा हार्दिक आभार व्यक्त गर्दछु । धनगढी नेपालको सुदूरपश्चिमी भूखण्डको पुरानो चहलपहलको स्थान हो । यो अहिले उद्यम इलम र व्यवसायको शहरी केन्द्र बनेको छ । आफ्नो थाकथलो र जमिन पवित्र मान्ने यस भेगका भुमीपुत्रहरु आज यस क्षेत्रको चौतर्फि विकास चाहन्छन् । त्यसका निम्ति बढ्दै गएको उत्सुकता तथा जागरुकता निश्चय पनि सहानीय छ ।
राष्ट्रनिर्माणको अभियान र निरन्तरताको भौतिक, शैक्षिक तथा सामाजिक विकासको क्रममा अब नेपालका कुनै पनि भूभाग टाढा र नजिक छैनन् । राष्ट्रिय अवधारणा बुबाज्यूको राज्यकाल देखि नै उत्कर्षका रुपमा अघि बढेको हो । टिकापुर तथा महेन्द्रनगर यस क्षेत्रमा आज जुन रुपमा खडा छन्, त्यो त्यसैको उदाहरण हो । तर जुन प्रकारको राष्ट्रवादी सोच, राष्ट्रिय चिन्तन र सर्वांगिण उन्नतिको उच्च ध्येय बोकेर समग्र राष्ट्रको उत्थानको शुरुवात भएको हो त्यो त्यही गति र प्रवाहमा अघि बढ्न सकिरहेको छैन । यो हामी सबैका निम्ति सुखद् होइन । डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर, बैतडी, दार्चुला, आछाम र बाजुरा यो भेगका सुन्दर रमणीय र तिर्थस्थलहरु हुन् ती सबैलाई समेटेर धनगढी, महेन्द्रनगर, टीकापुर जस्ता आधुनिक चरणमा खडा भएका केन्द्रहरुले जुन प्रकारको ज्योति प्रशारण गर्नुपर्ने हो त्यो अपेक्षित रुपमा हुन नसकेको कटुसत्य हो ।
हाम्रै आँखाले देखेको र स्वयम् अनुभूत गरेको कुरा हो चार दशक अघि सम्म हाम्रो देश कृषि, वन आदी कतिपय – विषयमा आत्मनिर्भर थियो । आफ्नो आवश्यकतालाई परिपूरण गरेर हामी धान चामल निर्यात गर्दथ्यौं । ग्रामीण तथा शहरी कलकारखाना, साना लघु उद्योग धन्दाहरु कता विलाए ? किन हराए रु जल जमिन जंगल जडिबुटी र जनस्तरीय सीप सबैतिर आज उजाडको अवस्था छ । हाम्रा घर आँगन पिडी र छिंडीमा चल्ने जन शिल्पीका कैयन् कुटीर उद्यम व्यवसायहरु पूरापूर लोप भएर गएका छन । हिजोका हाम्रो अग्रजहरु र हाम्रा पौरखी पुस्ताहरुलाई श्रेय दिएर सम्झना गर्ने कि नगर्ने ? यस्ता थुप्रै प्रश्नहरु तपाई हामी सामु छन् ।
सोझा साझा जनतालाई मुर्ख भन्दै तिनलाई झुक्याउँदै आफ्नो स्वार्थसिद्ध गर्ने आजको प्रपञ्च अब खुल्दै गएको छ । नेपाली जनतालाई आफ्नो भूभाग र आफ्नो राष्ट्रिय अस्तित्व हुँदा हुँदै शरणार्थी बनाएर अर्काको देशमा श्रम पसिना बगाउन पठाएर आज जे हर्कत गरिरहेका छन, त्यसबाट हाम्रो इज्जत, गौरब सबै लोप भएर गएको छ । देशभित्रै बसौं, देश मै पसिना बगाउँ र आफ्नो पौरखले आफ्नै देश सपारौं भन्ने भावना हराउँदै गएको छ ।
के नयाँ नेपाल भनेको यही हो ? के अग्रगामी भनेको पराबलम्बी नेपाल हो ? के नेपालको आफ्नो अस्तित्व छैन रु हामी वीर परिश्रमी र स्वाभिमानी नेपाली तर आज हाम्रो वीरता र हाम्रो स्वाभिमान हाम्रो श्रम सीप सबैथोक खोसिएको त छैन ? यस्तो दारुण दृश्य देख्दा हामी सबैको आँखा रसाउँदै गएको छ । आजको युग विकासको युग हो । आजको युग प्रविधीको युग हो । हामी आफ्नै श्रोत साधन आफ्नै सामर्थ्य र आफ्नै स्वतन्त्र सत्ताद्वारा आफ्नो युगानुकूल उन्नति चाहन्छौं ।
त्यसैले सोच्ने बेला आयो अब कुन के कस्तो राष्ट्रिय दृष्टिकोण हामीले लिने ? कस्तो प्रणाली पद्धति र परिपाटी हामीले अंगाल्ने ?सोचौं गहिरिएर सोचौं, अझ दिलै देखि सोचौं, नेपाली भएर सोचौं, नेपाल आमाको हावापानी माटो र मुटुलाई छोएर सोचौं देशभन्दा ठूलो अरु केही हुँदैन । आजको टड्कारो अवस्थालाई नदेखेको र नबुझेको जस्तो गरेर, कुरा बटारेर अरुलाई अल्मल्याएर र निषेध गरेर अनि कोठे र ओठे जवाफ फर्काएर नेपाल र नेपालीको भविश्य सप्रिदैन । भोलीको सुन्दर सपनालाई साकार र विपना बनाउन नेपाली मत, मान्यता तथा मनोभावना अनुसार नेपाली जनतालाई नै जिम्मा दिउँ यसैमा हाम्रो कल्याण छ ।
सबैमा एक पल्ट फेरि हाम्रो धन्यवाद जय नेपाल धनगढी










You must be logged in to post a comment.