धनगढी : नेपालका प्रमुख मन्दिरहरू मध्येको एक हो बडीमालिका मन्दिर क्षेत्र पनि । यो स्थान सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा पर्दछ । यहाँ प्रत्येक वर्ष मालिका चतुर्दशीका दिन मुख्य पूजा हुन्छ ।
बडीमालिकामा २ वटा पुजारीले पूजा गर्छन् । यीमध्ये १ जना कालिकोटबाट आउँछन् भने अर्को १ जना बाजुराका पुजारी छन् ।
किंवदन्ती :
पौराणिक कथा अनुसार महादेवकी पत्नी सतीदेवीका पिता दक्ष प्रजापतिले यज्ञ गर्दा महादेव र सतीलाई बोलाएनन् । सतीदेवी दक्ष प्रजापतिको यज्ञ स्थलमा गएर पितासँग आफ्ना पति महादेवलाई नबोलाउनाको कारण सोधिन् । दक्ष प्रजापतिले महादेव भाङ, धतुरो सेवन गर्ने, श्मसानमा वास गर्ने, गलामा सर्पको माला लगाउने, जटाधारी भेषमा रहने, शरीरभरि खरानी घस्ने, बाघको छालाको पहिरन गर्ने हुनाले यो यज्ञमा बस्दा शोभा भएकाले नबोलाएको भनी उत्तर दिए । आफ्ना पतिको यस्तो अपमान सहन गर्न नसकेर सतीदेवीले यज्ञ कुण्डको अग्निमा हाम फालेर प्राण त्याग गरिन् ।

त्यसपछि महादेव रिसाएर विरभद्रादी शिवगणलाई पठाएर दक्षलाई मारी दक्षको यज्ञ तहस नसह पार्न लगाए । त्यसपछि महादेव पत्नी वियोगमा पागल भएर सतीदेवीको मृत शरीर बोकेर पुरा विश्व घुम्न थाले । यसै बेला भगवान् विष्णुले आफ्नो चक्र सुदर्शन प्रहार गरी किरा पारेर सतीदेवीको मृत शरीर कुहाए । यसरी ठाउँ ठाउँमा सतीका अङ्गहरू पतन हुँदै (झर्दै) खस्न थाले । यसरी ठाउँ ठाउँमा सतीका अङ्गहरू पतन हुँदै (झर्दै) खस्न थालेपछि जहाँ जहाँ सतीका अङ्ग पतन भए त्यहाँ त्यहाँ एक एक वटा सिद्ध पीठ बन्दै गए । यसै क्रममा मल्ला गिरी पर्वतमा सतीको बायाँ कुम पतन भयो । त्यसै मल्लागीरीलाई अहिले मालिका भनिन थालियो । र यहाँ मल्लिका अथवा मालिका देवी शक्ति स्वरूपले रहन थालिन् । तसर्थ यस स्थानमा बडिमालिका मन्दिर स्थापना गरेर पूजा गर्न थालियो ।

भनिन्छ पौराणिक कालमा भगवतीले महिषासुर नामको दैत्यको वध गरिसकेपछि कालिकोटको द्वारेढुंगा भन्ने ठाउँमा विश्राम गरेकी थिइन् । पछि गएर द्वारेढुंगामा एक जना दाउरा खोज्न गएको दलित भोकले व्याकुल भई देवीसँग बहरको मासु र हिया गहुँको रोटी माग्यो । देवीले त्यो दलितको मनोरथ पूरा गरिदिइन् । दलितले पूरै बहरलाई एक्लै खान नसकिने भएकाले आफ्नो घरका मान्छेलाई बोलाएछ । उसको घरको मानिसहरूले टाढा भएका कारण सुन्न सकेनन् । तब त्यो दलितलाई रिस उठ्यो। उसले भगवतीलाई भन्यो हे ! परमेश्वरी मेरा घरका सबै मान्छे मरुन् ।

देवीले पनि इच्छाअनुसार वरदान दिइन् । त्यसपछि बहरको मासु लिएर दलित घर गएछ । घरमा हेर्दा त सबै जहानहरू मरेका देख्यो । फेरि दलित रिसाएर द्वारेढुंगा पुग्यो । देवी उसलाई देखेर ढोका बन्द गरी त्यहाँबाट भागिन् । दलितले बहरको फिलाले देवीको घरमा हानेको छाप अझै द्वारे ढुङ्गामा देखिन्छ ।

यसो भएका कारण देवी सधैँका लागि त्यो ठाउँ छोडेर त्रिवेणी, पञ्च पुरी पाटन, मल्ल पुरी पाटन हुँदै बडीमालिकामा गएर बसिन् । त्यसैले दलितहरू बडिमालिका जाँदैनन् भन्ने विश्वास गरिन्छ। अन्य भक्तजनहरू जो बाटो देवी गएकी हुन् त्यही बाटो भएर जान्छन् ।

सरकारी पूजा :
यस मन्दिरमा सरकारका तर्फबाट एक जना पुजारी बनाइएका छन् । डोटी, अछाम, बाजुरा, कालिकोट र जुम्लाका प्रमुख जिल्ला अधिकारी तथा अन्य कर्मचारीहरूको हातबाट देवीको सरकारी पूजा सम्पन्न हुन्छ।

प्राकृतिक सौन्दर्य :
बडीमालिका धार्मिक मात्र नभएर पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण मानिन्छ । नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरू बडी मालिकाका गहना हुन् । बडी मालिकाको सौन्दर्य भनेकै विशाल फाँटहरू हुन् । तर अचेल यी फाँटहरू बिस्तारै मासिँदै छन् । यी फाँटमा अनावश्यक चरन र जडीबुटी चोरी निकासीका कारण यसको सौन्दर्य मासिएको जिल्लावासीको गुनासो छ ।

कसरी पुग्ने ? के-के देख्न पाइन्छ ?
मन्दिरमा पुग्न बाजुरा जिल्लाको सदरमुकाम मार्तडी बजारबाट पैदल हिँडेर जाँदा २ (३ दिनमा पुग्न सकिन्छ । यहाँ पुग्न जो कोहीलाई हम्मे हम्मे पर्दछ । आफूलाई आवश्यक पर्ने चामल पिठो, ओढ्ने ओछाउने र लगाउने कपडा, पकाउने र खाने भाँडाका साथै अन्य सर समानहरू बोकेर दुर्गम बाटो, उकाली ओराली, भिर पहरा र भन्ज्याङहरू पार गरेर यहाँ पुग्न कम चुनौती पूर्ण छैन । अग्लो चुचुरोमा रहेको बडिमाईको मन्दिर वरपर विभिन्न प्रकारका सुन्दर फूलहरूले र २२ पाटन (हरिया फाँट) हरूमा चर्दै गरेका भेडा, बाख्रा, भैँसी आदी जनावरहरूले यहाँको शोभा बढाएको हुन्छ ।

त्यस्तै गोठालाहरू र यात्रीहरूको मुखबाट गुन्जिने सुरिला देउडा भाकाले झनै यस ठाउँको सौन्दर्ययता बढाउँछ । यती हुँदा हुँदै पनि यो ठाउँ पर्यटकीय केन्द्र विन्दु बन्न सकिरहेको छैन । यसको थप प्रचार प्रसार गरेर नेपालको पर्यटकीय स्थलको रूपमा चिनाउन आवश्यक छ ।



















You must be logged in to post a comment.