आजको मौसम : पहाडमा वर्षा, सुदूरपश्चिम, लुम्बिनी र गण्डकीका तराईका भूभागमा तातो हावा चल्ने सम्भावना

उच्च तापक्रमका कारण तराईमा तातो हावा (लू) चल्न थालेको छ।
प्रकाशित : :

सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका तराईका भूभागमा अझै केही दिन तातो हावा चल्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाले नियमित बुलेटिनमार्फत असार १ गतेसम्म सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका तराईका जिल्लाको तामक्रम नघट्ने प्रक्षेपण गरेको छ।

‘आगामी केही दिनसम्मको लागि देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशको तराईका धेरैजसो भूभागहरूमा अत्याधिक गर्मीको सम्भावना अझै रहने देखिनुका साथै बागमती प्रदेशको तराईका भूभाग र मधेश प्रदेशको पश्चिमी भूभागमा  थोरै तापक्रम घटे तापनि अत्याधिक गर्मीको सम्भावना यथावत् रहने देखिएको छ । तसर्थ, ती भूभागहरूमा आगामी चार दिन सम्भावना यथावत रहने देखिएकोले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ महाशाखाको नियमित बुलेटिनमा भनिएको छ।

यता मधेश प्रदेशको पूर्वी भूभागमा तापक्रम केही घट्ने सम्भावना देखिए तापनि गर्मीको सम्भावना यथावत रहेको बताइएको छ।

त्यस्तै, देशको पश्चिमी पहाडी भूभागका उपत्यका तथा खोँचहरूमा पनि तापक्रम यथावत् रहन सक्ने सम्भावना रहेको महाशाखाले बताएकोछ ।

साथै यस वर्ष मनसुनी वर्षाको आगमन पनि औसत मिति (जुन १३ तारिख) भन्दा एक-दुई दिन ढिला हुने सम्भावना रहेको महाशाखाले बताएको छ।

कसरी बच्ने?

तातो हावा तथा ‘लू’ बाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदिको लक्षण देखापर्ने महाशाखाले भनेको छ। 

यसबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा पहिरिने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्बत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन महाशाखाले सुझाएको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट