धनगढी । नेकपा एमालेका सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्टले दशरथ चन्द मेडिकल विश्वविद्यालयलाई विश्वविद्यालयनै बनाउनुपर्ने बताएका छन् ।
मन्त्रीपरिषदको बैठकले विश्वविद्यालय बनाउने भने पनि नीति, कार्यक्रम तथा बजेटमा प्रतिष्ठानका रुपमा आएपछि गोदावरीमा पत्रकार सम्मेलन गर्दै नेता भट्टले विश्वविद्यालयका रुपमा मेडिकल कलेजलाई अघि बढाउनुपर्ने बताएका हुन् ।
‘मन्त्रीपरिषदको बैठकले विश्वविद्यालय बनाउने भन्ने निर्णय गरिसकेको थियो । बजेटमा प्रतिष्ठान भनेर आएको छ’ उनले भने –‘मन्त्रीपरिषदले गरेका निर्णय भन्दा ठुलो सदनको निर्णय हो । सदन सरकारभन्दा माथि हुन्छ । त्यसैले बजेटमा लेखिएको प्रतिष्ठान सच्याइनुपर्छ ।’
उनले मेडिकल कलेजका लागि उचित बजेट व्यवस्थापन गर्नुपर्ने बताए । उनले भने –‘अहिले सरकारले मेडिकल कलेज सञ्चालनका लागि साढे तीन करोड रकम विनियोजन गरेको छ । यसले पुग्दैन । कलेज सञ्चालनका लागि तीन देखि पाँच अर्व विनियोजन गर्नुपर्छ ।’ उनले मेडिकल कलेज सञ्चालन हुन नदिन मेडिकल माफियाले पनि चलखेल बढाइरहेको बताए ।
डडेल्धुरामा मेडिकल कलेज सञ्चालन ल्याउनेबारे व्याँग्य गर्दै भने –‘पुर्वाधार सबै बनेका ठाउँमा सञ्चालन हुन सकेको छैन । जहाँ संरचनानै छैन त्यहाँ सञ्चालन हुन्छ भन्ने मलाई लाग्दैन् । डडेल्धुरामा मेडिकल कलेज बन्ने सम्भावना म देख्दिन ।’ उनले गेटास्थित मेडिकल कलेज सञ्चालनका लागि नेकपा एमालेले सडकदेखि सदनसम्म शान्तिपूर्वक दबाबमुलक कार्यक्रम गरिरहेको बताए ।
फरक प्रसंगमा बोल्दै सचिव भट्टले राजनीतिक समिकरण बदलिन सक्ने संकेत देखिएको बताए । सरकारले ल्याएको बजेटकै कारण अहिलेको समिकरण फेरबेदल हुने देखिएको उनले बताए । ‘राजनीतिक परिस्थिति परिवर्तन हुँदैछ । ठिक ढंगले अघि नबढे देश अराजकतातिर जान्छ’ उनले भने ।
उनले अहिलेको बजेटले आर्थिक स्थिति मजबुत बनाउने भन्दा कमजोर बनाउने गरि आएको बताए । उनले भने –‘जबसम्म आयात घटाउने र निर्यात बढाउन सकिदैन तबसम्मको देशको व्यापारस्थिति घाटा तर्फ गइरहन्छ ।’