को-को हुन कमिसनको खेलो खेल्ने ? आर्थिक अनियमितताको आरोपमा लगातार मुद्दा दायर हुँदै

लाईसेन्सको परिणाम फेरबदल गरेको दाबीसहित यातायात कार्यालय धनगढीका तत्कालीन प्रमुखसहितका ३ जना विरुद्ध भ्रष्टाचारको मुद्दा
प्रकाशित : :

कञ्चनपुर: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महाकाली नदीबाट निर्माण सामग्री (ढुंगा, गिट्टी र बालुवा) उत्खननमा आर्थिक अनियमितता भएको ठहर गर्दै आइतबार भीमदत्त नगरपालिकाका तत्कालीन नगर प्रमुख सुरेन्द्र विष्टसहित १२ जनाका नाममा विशेष अदालतमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

आयोगले भीमदत्त नगरपालिकाका तत्कालीन नगरप्रमुख सुरेन्द्रबहादुर बिष्ट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रसाद भट्ट र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीसमेत १२ जना तथा भवानी कन्स्ट्रक्सन प्रालिविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको हो ।

आर्थिक वर्ष ०७७/०७८ मा निर्माण सामग्री उत्खननको रोयल्टीमा ठेकेदार कम्पनी भवानी कन्स्ट्रक्सनलाई लाभ पुग्ने गरि न्यूनतम कबोल अंक घटाएर आर्थिक अनिमियतता गरेको आरोपमा उनीहरुमाथि मुद्दा दर्ता भएको हो । यसरी कबोल अंकमा छुट दिँदा नगरपालिकाको ३ करोड ३३ लाख २२ हजार ५८३ रुपैंया राजस्व गुमेको अख्तियारको अनुसन्धानले देखाएको छ ।

नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशी, राजस्व छुटका लागि गठित कार्यदलका संयोजक तथा वडा नं. १७ का अध्यक्ष हिमालबहादुर चन्द, प्रशासकीय अधिकृत हरिसिंह धामी, शाखा अधिकृत नरबहादुर शाह, इन्जिनियर हिमालयसिंह ऐर र गोविन्द उपाध्यायका नाममा मुद्दा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । चन्दको कार्यदलले कोरोना संक्रमण कालमा दामासाही हिसाबले ३९ दिनको रोयल्टी छुट दिन सकिने प्रतिवेदन पेस गरेको थियो भने प्रशासकीय अधिकृत धामी, शाखा अधिकृत शाह र इन्जिनियर हिमालय सिंह ऐर साक्षी बसेका थिए ।

यसैगरी महाकालीबाट निर्माण सामग्री उत्खननको ठेक्का पाएको निर्माण कम्पनी भवानी कन्स्ट्रक्सन प्रालिका सञ्चालक केशवराज भट्ट, पुष्पराज भट्ट र आधिकारिक प्रतिनिधि दिवाकर भट्ट तथा इश्वरी भट्टका नाममा मुद्दा दर्ता भएको छ । महाकालीको रोयल्टी शुल्क उठाउने ठेक्कामा ३ करोड ३३ लाख २२ हजार ५८३ रुपैयाँ चुहावट भएको देखिँदा चारै जनाविरुद्ध सोही रकम बिगोसहित सजाय मागदाबी गरिएको छ । निर्माण क्मपनीका प्रतिनिधि ईश्वरी भट्टको मृत्यु भइसकेका कारण उनकी श्रीमती खगेश्वरी भट्टबाट बिगो असुलउपरको मागदाबी गरिएको छ ।

महाकालीकै रोयल्टीमा ५ करोडभन्दा बढीको अनियमितता भएको भन्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टसहित ९ जनाका नाममा वैशाखमा मुद्दा दर्ता भएको थियो । उक्त मुद्दा विशेष अदालतमा विचाराधीन छ । इन्जिनियर हिमालयसिंह ऐर, लेखा अधिकृत गोविन्दराज उपाध्यायलगायतका नाममा मुद्दा दर्ता भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयले महाकालीको रोयल्टीसम्बन्धी थप एक मुद्दामा अनुसन्धान गरिरहेको छ ।

कञ्चनपुर मालपोतविरुद्ध अख्तियारद्वारा अनुसन्धान प्रक्रिया सुरु: 

कञ्चनपुरमा भूमिसुधार तथा मालपोत कार्यालय गैरकानुनी तरिकाले सेवाग्राहीकाट राजश्व संकलन गरिरहेको बिषयमा अख्तियार दुरुपयोग अनुसनधान आयोगले अनुसन्धान प्रक्रिया थालेको छ ।
बैंकका पुराना ऋणीले उही धितो र उही ऋणमा कर्जा थप गर्दा मालपोत कार्यालयले थप ऋणको मात्रै नभई पुरानो ऋणसमेतको राजश्व लिने गरेको खुलासा भएपछि अख्तियारमा उजुरी परेको थियो ।
अख्तियारको महेन्द्रनगर कार्यालयका सूचना अधिकारी नवराज भण्डारीले ‘स्क्रिनिङ’ अर्थात् प्रारम्भिक छानविनका लागि उजुरी काठमाडौं कार्यालयमा पठाइएको बताए । केन्द्रीय कार्यालय काठमाडौंबाट आउने निर्देशनअनुसार अनुसन्धान अगाडि बढने उनको भनाई छ ।

भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत शिवराज भट्टले तालुकवाला विभाग र प्रदेश सरकारको परिपत्रविना राजश्व संकलन गरेको पनि स्वीकारे । उनले बैशाख महिनामा धनगढीमा भएको एक प्रशिक्षणका प्रशिक्षकले प्रदेशको आर्थिक ऐनमा थप ऋण लिँदा के गर्ने भन्ने नखुलाइएकोले पुरानो ऋण अंकको समेत राजश्व लिन सकिने बताएका हुनाले कञ्चनपुर मालपोतले दोहोरो राजश्व असुली गरिरहेको बताए। महेन्द्रनगरका स्थानीय व्यवसायी घनानन्द लेखकले कानुनले नतोकेको राजश्व संकलन गर्नुपनि भ्रष्टाचार भएको भन्दै ५ असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए । कानुनले नदिएको अधिकार प्रयोग गरेर सेवाग्राहीबाट राजश्व भराएको कार्य अख्तियार दुरुपयोग अनुसन्धानको कार्यक्षेत्रभित्र पर्ने लेखकले दाबी गरेका छन् ।

नगर विकास समितिको लिज प्रकरणमा दोस्रो चरणको अनुसन्धान सुरु:

यतिमात्रै होइन तत्कालीन महेन्द्रनगर नगर विकास समितिको जमिन लिज तथा बिक्री गर्दा भएको अनियमितता विषयमा पनि दोस्रो चरणको अनुसन्धान चलिरहेको छ । हालसम्म जमिन लिजमा लिनेदेखि दिनेसम्म गरी १४० जनाका नाममा विशेष अदालतमा मुद्दा दर्ता भइसकेको छ । थप १८० जनाका नाममा मुद्दाको तयारी भइरहेको आयोगको महेन्द्रनगर कार्यालयका प्रमुख रामबहादुर कुरुम्बाङले बताए ।

यातायात कार्यालय कैलालीका कर्मचारीमाथि मुद्दा दर्ता:

यसैगरी शुक्रबार मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा फेल भएकालाई प्रयोगात्मक परीक्षामा सहभागी गराएको तथा प्रयोगात्मक परीक्षामा फेल भएकालाई सवारी चालक अनुमतिपत्र दिएको आरोपमा यातायात व्यवस्था कार्यालय कैलालीका तत्कालिन प्रमुख लक्ष्मण शाही, सहायक कम्प्युटर अपरेटर नरेन्द्र कुमार कठरिया र कम्प्युटर अपरेटर पवनकुमार रावल उपर सरकारी कागजात सच्याएको एवम् परीक्षाको परिणाम फेरबदल गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट