धनगढी : कैलालीको गेटा मेडिकल कलेजलाई एक सय शय्याको अस्पतालका रूपमा सञ्चालनको तयारी थालिएको छ । यसका लागि सरकारले चालु आवमा आवश्यक बजेट व्यवस्था गरेको छ ।
साउन मसान्तबाट अस्पताल सञ्चालन गर्ने तयारी भइरहेको छ । यसका लागि आवश्यक तयारी थालिएको गेटा मेडिकल कलेजका निर्देशक डा. प्रमोद जोशीले बताउनुभयो । “तत्कालका लागि एक सय शय्याको अस्पताल सञ्चालन गर्न निर्देशनसहितको जानकारी आएको छ,” उहाँले भन्नुभयो, “त्यसैका लागि अहिले तयारी भइरहेको छ ।”
उहाँले न्यूनतम सेवासहितको अस्पताल सञ्चालनका लागि आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो । अस्पताल सञ्चालन गर्न १४० जनाको अस्थायी दरबन्दी पनि स्वीकृत गरिएको छ ।
सरकारले केही महिनाअगाडि गेटा मेडिकल कलेजलाई सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो तर चालु आर्थिक वर्षको बजेटमा एक सय शय्याको अस्पताल बनाउने कार्यक्रम राखिएको छ । विश्वविद्यालय बनाउने निर्णय गरेको सरकारले एक सय शय्याको अस्पताल सञ्चालन गर्ने कार्यक्रम राखेपछि नागरिकस्तरबाट आन्दोलनसमेत गरिएको थियो । स्वास्थ्य सेवामा सुदूरपश्चिम प्रदेशवासीको सहज पहुँच पु¥याउने र दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ नेपाल सरकारले २०७३ सालबाट मेडिकल कलेजका लागि पूर्वाधार निर्माण अगाडि बढाएको थियो ।
हालसम्म पाँच अर्ब ९९ करोड रुपियाँ खर्चेर विभिन्न संरचना तयार पारिएको छ । मेडिकल कलेजलाई आवश्यक पर्ने कलेज, अस्पताल, प्रशासनिक भवन, चिकित्सक आवास, छात्रवासलगायत २९ वटा भवन निर्माण गरिएको छ ।
यसैबिच मेडिकल कलेजको पूर्वाधार निर्माण अगाडि बढाउन र रेखदेख गर्नका लागि बनाइएको मेडिकल कलेज पूर्वाधार निर्माण समितिलाई सरकारले खारेज गरेको छ ।
चालु आवबाट सो समितिलाई खारेज गरिएपछि निर्माणाधीन संरचनाको रेखदेख कसले गर्ने भन्ने अन्योल सिर्जना भएको छ । निर्माण समिति खारेजीले बाँकी रहेका संरचनाको निर्माण लथालिङ्ग हुन्छ कि भन्ने चिन्ता प्रदेशवासीमा बढेको छ ।