माओवादी केन्द्रको १७ साउन बस्ने केन्द्रीय समिति बैठक निकै महत्वपूर्ण मानिएको छ । उक्त बैठकमा सरकारको समीक्षा, समाजवादी मोर्चा गठनको समीक्षा, माओवादी केन्द्रको दुई महिने संगठनात्मक अभियान, बाबुराम भट्टराई र नेत्रविक्रम चन्द विप्लवसँगको एकतालगायत एजेन्डामा छलफल हुने भएको छ ।
यो बैठकमा अर्को रोचक विषय पनि रहेको छ । माओवादीले बैठक प्रवेशका लागि पाँच सय रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुडले पाँचबुँदे सर्कुलर जारी गरेर उक्त सन्देश प्रवाह गरेका हुन् ।
नेताहरूका अनुसार केन्द्रीय समितिको बैठकमा सहभागीका लागि प्रवेश शुल्कबापत पाँच सय रुपैयाँ प्रतिव्यक्तिका दरले बुझाउनु पर्ने सर्कुलर भएको हो । त्यसका अलवा लेबी बुझाउन बाँकी केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य र विभिन्न आयोगका सदस्यहरूले असार मसान्तसम्मको लेबी पनि बुझाउन भनेको छ ।
माओवादी नेताहरूका अनुसार उक्त लेबी रकम १७ साउन अघि नै बुझाउनुपर्नेछ । उक्त रकम बुझाएपछि मात्रै परिचयपत्र प्राप्त गर्ने पनि बताइएको छ । २०७८ पुसको महाधिवेशनको आयव्यय विवरणमा फरफारक गर्न माओवादीले समितिहरूलाई भनेको छ ।
माओवादी केन्द्रीय कार्यालयले आठौँ महाधिवेशनको हिसाब कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट अझै पनि नबुझाएको उल्लेख गरेको छ । सोहीकारण ती प्रदेशलाई उक्त हिसाबकिताब बुझाउन भनेको छ । माओवादी केन्द्रकाे १७ साउनको केन्द्रीय समिति बैठकमा ३६८ केन्द्रीय सदस्यबाट १ लाख ८४ हजार रुपैयाँ उठ्ने देखिन्छ ।
यसबाहेक माओवादी बैठकमा प्रदेश अध्यक्षका साथै वैकल्पिक सदस्यलगायतको पनि सहभागिता हुने प्रचलन रहेको छ । माओवादीको वैकल्पिक केन्द्रीय सदस्य २०२ जना रहेका छन् ।