धनगढी : पछिल्लो समय कैलालीमा आँखा पाक्ने रोगको संक्रमण बढ्दै गइरहेको छ । रोगको संक्रमण तिब्र गतिमा बढेसंगै आँखा अस्पताल,प्रादेशीक अस्पताल,स्वास्थ्य केन्द्रहरु लगायत निजी क्लिनिकमा बिरामीहरुको चाप बढ्दै गइरहेको बताइएको छ ।
गेटा आँखा अस्पतालका बरिष्ठ नेत्र अधिकृत रमेश चन्द्र भट्टले अस्पतालमा पछिल्लो एकसाता देखि आँखा पाक्ने बिमारीको संख्या बढ्दै गइरहेको बताए । दैनिक ५/६ सय बिरामी आउने गरेकोमा करिब ७० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या देखिएको उनले जानकारी दिए ।
कन्जङ्टिभाइटिस अर्थात् आँखा पाक्ने रोग लागेमा आँखाको सेतो भागको बाहिरी तह र आँखाको ढकनीको भित्री तहमा पोलेको महशुस हुने, आँखा फुस्रो वा रातो देखिने, आँखामा पीडा हुनुका साथै पोलेको, चिलाएको वा केही बिझाएको महशुस हुने,आँखामा धेरै आँसु आउने र बिहान उठ्ने बेलामा आँखाको ढकनी एकआपसमा टाँसिने जस्ता लक्ष्यण देखिने बरिष्ठ नेत्र अधिकृत भट्टले बताए ।
उनले भने, यो रोग लाग्दा आँखाको सेतो भाग सुन्निन पनि सक्छ। यदि आँखा पाक्ने रोगका साथमा एलर्जी भयो भने अझ धेरै चिलाउने हुन सक्छ र यसले एउटा मात्रै वा दुबै आँखामा असर पुर्याउन सक्छ ।
भाइरसको सङ्क्रमण पछि लगत्तै हुने ब्याक्टेरियाको सङ्क्रमण र फूलहरूको पुङ्केशर वा जनावरको रौंका कारणले हुने एलर्जीले आँखा पाक्ने रोग लाग्ने गरेको उनले बताए ।
कुनै पनि सामान नधोइकन प्रयोग नगर्ने, पटक पटक हात–मुख धुने, आँखा पाकेका बिरामीले प्रयोग गरेका रुमाल, कपडा, ओछ्यान, तौलिया जस्ता सामानको अरूले प्रयोग नगर्ने, आंखा पाकेका बिरामीको नजिक नजाने जस्ता उपाय अपनाएमा यस रोगबाट बच्न सकिने भट्टले बताए ।
यो रोग अत्यन्तै तिब्र गतिमा सर्ने भएकाले रोग लागेको व्यक्तिले विद्यालय,बजार जस्ता बढि भिडहुने ठाउँहरुमा जान नहुने उनको भनाई छ । आँखा सम्बन्धि कुनै समस्या देखिएमा आँखा अस्पतालमा गई बिशेषज्ञको सल्लाह अनुसार औषधी सेवन गर्नुपर्ने उनकोे भनाई छ ।
आँखा पाक्ने रोग सामान्य भएतापनि यसको समयमै उपचार नगरेमा आँखाको नानीमा घाउ भई जटिल समस्या उत्पन्न हुनसक्ने भएकाले सर्तकता अपनाउन उनले सबैलाई आग्रह गरे ।आँखामा कुनै पनि प्रकारको समस्या देखिएमा तुरुन्त बिषेशज्ञ डक्टरलाई देखाइ उपचार गर्न र विना चेकजाँज औषधी सेवन नगर्न बरिष्ठ नेत्र अधिकृत भट्टले सुझाब दिए ।
- लक्षण
आँखा रातो हुनु, आँसु आइरहनु, आँखा पोल्नु, आँखा भारी हुनु, कचेरा आउनु, आँखा बिझाएजस्तो हुनु आँखा पाक्दा देखिने लक्षण हुन् । यस्तै घाममा हिंड्न गाह्रो हुनु, उज्यालोमा हेर्न गाह्रो हुनु, आँखा सुख्खा भएर चिलाउनु, दृष्टि धमिलो हुँदै जानु, आँखा तथा आँखा वरपर को भाग सुन्निनु आँखा पाक्दा देखिने समस्या हुन् । बिहान उठ्दा आँखाको ढकनी पूरै टाँसिनु, आँखा खोल्न गाह्रो हुनु, घाममा हेर्न वा बस्न गाह्रो हुनु पनि आँखा पाक्दा देखिने लक्षण हुन् ।
- दीर्घकालीन समस्या होइन
आँखा पाक्ने रोग मौसम परिवर्तनसँगै हुने भएकाले यसले लामो समयसम्म सताउँदैन । गर्मी मौसममा आँखा पाक्ने रोग लागेका धेरै मानिस भेटिने भएपनि दीर्घकालीन समस्या भने होइन ।
- एकबाट अर्कोमा सर्छ
आँखा पाक्ने रोग एक व्यक्तिबाट अर्कोमा सर्छ । संक्रमित व्यक्तिले आँखा मिच्दा उसको हातमा कीटाणु टाँसिन्छन् र त्यही हात अर्को व्यक्तिसँग मिलाउँदा रोग सर्छ । आँखा पाक्ने समस्या भएको व्यक्तिको रुमाल, लुगाकपडा, कम्प्युटर, ल्यापटप, मोबाइल अर्को व्यक्तिले चलाउँदा यो रोग सर्ने सम्भावना हुन्छ ।
- बच्ने उपाय
आँखा पाक्ने रोगबाट बच्न धुलो–धुवाँबाट बच्ने, केमिकेलको काम गर्दा चश्मा लगाउने, घरबाहिर जाँदा सनग्लासको प्रयोग गर्ने गर्नुपर्छ । मोटरसाइकल, स्कुटर चलाउँदा सनग्लासको प्रयोग गर्नु राम्रो हुन्छ । स्वीमिङ गर्दा चश्मा लगाउनुपर्छ ।
कामबाट बेलुका घर फर्किएपछि एक पटक आँखालाई चिसोपानीले धुनुपर्छ । यसले आँखालाई धुलो, धुवाँ, केमिकल र संक्रमण हुनबाट जोगाउँछ ।
आँखा पाक्ने रोग लागिसकेको खण्डमा आँखालाई दिनको दुई–तीन पटक मनतातो पानीले सफा गर्ने, आँखा बन्द गरेर बस्ने, आराम दिने, आपूmले प्रयोग गरेको रुमाल, चश्मा, मोबाइल अरुलाई प्रयोग गर्न नदिने, घरबाहिर कम हिंड्ने गर्नुपर्छ ।