धनगढी : सेती प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु भएको छ । अवधी नपुग्दै व्यथाले च्यापेपछि प्रादेशिक अस्पताल भर्ना भएकी जोशीपुर गाउँपालिका–४ लालपुर वाणी बस्ने २५ वर्षीया राधा परियारको मृत्यु भएको हो ।
प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले शल्यक्रिया गरेर मृत नवजात शिशुलाई जन्म दिएकी परियारको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको बताए । उपाध्यायकाअनुसार शल्यक्रिया गरेर परियारको गर्भमा रहेको शिशु निकालिएको थियो ।
सो क्रममा शरीरमा अक्सिजनको मात्रा कम भएपछि परियारलाई भेन्टिलेटरमा राखिएको थियो । मृतकका आफन्तले प्रसुती वार्डका नर्सिङ स्टाफ र डाक्टरको लापरवाहीले मृत्यु भएको भन्दै कारवाहीको माग गरेका छन् । अहिले अस्पताल प्रशासन र पीडित पक्षबीच छलफल भइरहेको छ ।