स्वस्थ हुनुको अर्थ रोग नहुनु भन्ने होइन । शारीरिक, मानसिक र आध्यात्मिक रूपमा स्थिर र सन्तुलित हुनु हो । मानसिक स्वास्थ्य यसैभित्रको एउटा महत्वपूर्ण पक्ष हो । मानसिक रूपमा स्वस्थ हुनु भनेको त्यो अवस्था हो, जुन अवस्थामा मानिस सहज, स्वस्थ र सुखी हुन्छ । आफ्नो क्षमताको सही पहिचान गर्न सक्छ र जीवनमा भैपरी आउने समस्याको समाधान गर्न सक्छ ।
उसले आफ्नो तथा समाजको उत्पादनमूलक र रचनात्मक कार्य सम्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । तसर्थ, मानसिक स्वास्थ्य एउटा बृहत् विषयवस्तु हो । मानसिक रोग नहुनुलाई मात्र मानसिक रूपमा स्वस्थ भनियो भने यसको परिभाषा साँघुरो हुन सक्छ । हाम्रो मस्तिष्क र मनभित्रका कल्पना, भावना र सोचजस्ता सूक्ष्म विषयवस्तुसँग मानसिक स्वास्थ्य जोडिएको हुन्छ ।
- मानसिक समस्याले निम्त्याउने जटिलता
मानसिक समस्याले व्यक्तिको भावना, संवेदना, विचार र व्यवहारमा परिवर्तन ल्याउँछ । यो परिवर्तनले व्यक्तिको सांस्कृतिक विचार र व्यक्तित्वमा मात्र होइन, उसको सम्पूर्ण परिवार र समाजमा नै नकारात्मक असर पर्दछ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक पाँचजना वयस्क र बालबालिकामध्ये एकजनामा कुनै न कुनै प्रकारको मानसिक समस्या हुने गरेको छ । यसबाट पुष्टि हुन्छ, मानसिक रूपमा समस्या हुने मानिसको संख्या कम छैन ।
विश्व स्वास्थ्य संगठनको रिपोर्टअनुसार हाल विश्वमा ४५० मिलियन मानिस कुनै न कुनै प्रकारको मानसिक र व्यावहारिक असन्तुलनबाट ग्रसित छन् भने केन्द्रीय तथ्यांक विभागको जनगणना सन् २०११ अनुसार नेपालमा मात्र ३०,९९७ जना गम्भीर मानसिक समस्याले ग्रसित छन् । नेपालमा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने विज्ञहरूका अनुसार कुल जनसंख्याको २ प्रतिशतमा गम्भीर मानसिक समस्या र २० प्रतिशतमा कुनै न कुनै प्रकारको मानसिक रोग भएको देखिन्छ ।
विश्वमा भएका धेरै अनुसन्धानले के देखाउँछन् भने स्वास्थ्य परीक्षणका लागि आउने ४० प्रतिशत वयस्कमा कुनै न कुनै प्रकारको मानसिक समस्या हुन्छ । आर्थिक अवस्था कमजोर, शारीरिक रूपले अशक्त र सीमान्तकृत वर्गमा यो समस्या बढी देखिने गरेको छ । जनचेतनाको अभाव, गरिबी, असुरक्षा र जीवनप्रतिको निराशा यसका प्रमुख कारक तत्वको रूपमा रहेका छन् ।
हाम्रो समाजमा मानसिक समस्या भएको व्यक्तिप्रति राखिने दृष्टिकोण गलत र फरक ढंगको छ । जनचेतनाको कमी वा यसप्रतिको बेवास्ताले गर्दा उपचारको पहल गर्नुको सट्टा मानिसहरू रोग लुकाउँछन् । किनकि, मानसिक रोगीलाई नकारात्मक दृष्टिकोणले हेरिन्छ ।
मानसिक स्वास्थ्यबारेका सामाजिक भ्रम हटाउन र रोगबारे शिक्षा र चेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष १० अक्टोबरमा विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ । वर्ष २०२३ को विश्व मानसिक स्वास्थ दिवसको नारा ‘मानसिक स्वास्थ्य : विश्वव्यापी मानव अधिकार’ भन्ने तय भएको छ । कारण मानसिक रोगका विभिन्न कारण हुन्छन् । जीवनका विविध कालखण्डमा घटेका विभिन्न घटना र परिघटनाको परिणामस्वरूप मानसिक रोगको सुरुवात भएको हुन सक्छ ।
शारीरिक अथवा मेडिकल कारणले हुन्छ । एड्स, क्यान्सर, मिर्गौलासम्बन्धी रोगमा पनि शारीरिक लक्षणका अतिरिक्त मानसिक लक्षणहरू देखा पर्दछन् । वंशानुगत कारण पनि मानसिक रोग देखिन्छ । मनोविज्ञान र सामाजिक अवस्थामा आएका विभिन्न असरले गर्दा धेरै प्रकारका मानसिक समस्याको सुरुवात हुन्छ । बायोलोजिकल अथवा मस्तिष्कसँग सम्बन्धित विभिन्न प्रकारका मानसिक समस्याहरू जस्तो– डिमेन्सिया, सिजोफ्रेनिया, अटिजमजस्ता समस्यामा मस्तिष्क र जैविक सम्बन्धको बारेमा थुप्रै अनुसन्धान भएका छन् । कतिपय प्रश्न अझै अनुत्तरित भए तापनि मस्तिष्कको जैविक अवस्था, न्युरो ट्रान्समिटरसँग सम्बन्धित समस्याका कारण विभिन्न मानसिक समस्या सुरु हुने कुरा विभिन्न जर्नलले उल्लेख गरेका छन् ।
- रोकथाम र उपचार
आफूलाई जुन काम गर्दा पनि आत्मसन्तुष्टि प्राप्त हुन्छ, त्यो गर्नुहोस्, जस्तै– घुम्न जाने, साथीसँग समय बिताउने, परिवारसँग घुलमिल हुने । सकेसम्म नकारात्मक विचार मनमा आउन दिन हुँदैन । आफूलाई सकेसम्म व्यस्त राख्नुपर्छ । व्यस्त राख्न कुनै क्लब या सामाजिक संस्थामा आबद्ध हुनु राम्रो हुन्छ । वास्तविकताभन्दा बाहिरको कुरालाई ध्यान नदिनुहोस्, आफ्नो क्षमता र महत्वाकांक्षाको तुलना गर्नुहोस् र वास्तविकता महसुस गर्नुहोस् । समयमा सुत्ने र उठ्ने बानी बसाल्नुस् । ध्यान र प्राणायाम गर्नुहोस् । यसले मनलाई एकत्रित गर्न सहयोग गर्नुका साथै तपाईंमा आउने नकारात्मक विचारलाई बिस्तारै कम गराउँदै लैजान्छ । सन्तुलित भोजनमा ध्यान दिनुहोस् र रेडिमेड खानाको प्रयोग कम गर्नुहोस् । -नयाँ पत्रिकाबाट