काठमाडौं : आफ्नो श्रीमानका हत्यारा रिगल भनिने योगराज ढकाललाई सरकारले आममाफी दिएकोविरुद्ध अनशन बसेकी भारती मानन्धरको स्वास्थ्यमा समस्या आएको छ ।
रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गर्दागर्दै एक्कासी स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ । अधिकारकर्मी जस्मिन ओझालगायतले उनलाई अस्पताल लगेका हुन् ।
उनले दशैंसँगै स्थगित गरेकी रिले अनशन शनिबारदेखि फेरि सुरु गरेकी थिइन् । अदालतबाट दोषी प्रमाणित भइसकेका रिगललाई माफी दिएकोविरुद्ध भारतीसँगै अधिकारकर्मी आन्दोलित भएका छन् ।
श्रीमान चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।
२०७२ साल असारमा दुई समूहबीच आपसी विवाद हुँदा बाँके नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो ।