चमत्कार गर्छु भनेर दिनहुँ भाषण होइन, काम गर्नुस् : गगन थापा

चमत्कार गर्छु भनेर दिनहुँ भाषण होइन, काम गर्नुस् : गगन थापा
प्रकाशित : :

नेपाली कांग्रेसका सांसद गगन थापाले संघीय सरकारका मन्त्रीहरूलाई नागरिकले सेवा पाउने स-साना काम गर्न आग्रह गरेका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोलेका कांग्रेस महामन्त्री थापाले मन्त्रीहरूले दिनहुँजसो यो गर्छु, त्यो गर्छु भनेर भाषण गरिरहेको पनि बताए।

‘मन्त्रीजीहरूको इच्छाशक्ति भयो, नियत राख्नुभयो भने काम हुन्छ,’ थापाले भने, ‘साउन सकिन लाग्यो। तीर्थब्रत पनि सकिन लाग्यो। भदौ लाग्न लाग्यो, भदौ एक महिना हाम्रा मन्त्रीजीहरूले नबोल्ने ब्रत लिइदिनुस्, उद्घाटन नगर्ने ब्रत।’

उनले हरेक दिन समाचारमा मन्त्रीहरूका भाषण आउने पनि बताए।

‘हरेक दिन म यस्तो गरिदिन्छु भनेको छ, अरे बाबा, गर्ने ठाउँमा भएपछि त काम  गर्ने हो नि!,’ महामन्त्री थापाले भने, ‘हामी अहिले बोल्ने ठाउँमा छौं, बोल्ने हो। मन्त्रीजीहरू काम गर्ने ठाउँमा हुनुहुन्छ। प्रत्येक दिन मन्त्रीजीहरूको भाषण सुनिराखेको छु, हामी देश विकास गर्न आएको हो, हामी चमत्कार गर्छौं, अरे बाबा, गरिदिनुस् न!’

अहिलेको संघीय सरकारमा कांग्रेसका १०, एमालेका प्रधानमन्त्रीसहित ९, जसपाका २, लोसपाका १ मन्त्री र कांग्रेसका दुई तथा नाउपाका एक राज्यमन्त्री पनि छन्।

मन्त्रीहरूले एउटा मात्रै काम गरे त्यसको पाँच गुणा ज्यादा प्रचार आफूहरूले गर्ने पनि थापाले बताए। ‘हेर्नुस् त यहाँ कति छौं कांग्रेस-एमालेका सांसद, तपाईंहरूले काम गरिदिनुभयो भने यहाँ तर्सेर जाने अवस्था हुन्छ। मन्त्रीहरूले धमाधम काम गर्ने, सांसदहरूले बोल्ने हो।’

मन्त्रीहरूले संसद आउने, सांसदका कुरा सुन्ने र मन्त्रालय गएर काम गर्नुपर्ने भन्दै थापाले बाहिर नबोल्न पनि आग्रह गरेका छन्।

‘कहीँकतै मन्त्रीको अन्तर्वार्ता पढ्न नपरोस्, भाषण सुन्नु नपरोस्। प्रधानमन्त्रीले पनि म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न भनिराख्ने होइन। यो भन्नै पर्दैन प्रधानमन्त्रीले भ्रष्टाचार गर्नै पाउँदैन।’

महामन्त्री थापाले अहिलेका मन्त्रीहरूलाई दुई वर्षको आधार बनाएर काम गर्न पनि आग्रह गरेका छन्। महामन्त्री थापाले गिरीबन्धु टी-इस्टेट, भुटानी शरणार्थी, विद्युत बक्यौता लगायतका विषयलाई पनि प्रधानमन्त्रीले सही ढंगले निरूपण गर्नुपर्ने बताए।

कांग्रेस र एमाले मिलेर बनेको अहिलेको सरकारले सेवा प्रवाह गर्नैपर्ने थापाले बताए।

‘अहिले कांग्रेस र एमाले मिलेर बनेको सरकार छ, यो एउटा जोखिम पनि हो। यसले डेलिभरी गर्नैपर्छ,’ उनले भने, ‘यसले आफूले गरेका बाचा पूरा गर्नैपर्छ। त्यो बाचा पूरा गर्न भित्रैबाट हामी मद्दत गर्न चाहन्छौं।’

उनले सरकारका नराम्रा कामलाई समर्थन गर्न नसकिने र प्रश्न गरिने पनि बताएका छन्। उनले यो संसदले सबैभन्दा बढी कानून पनि बनाउनुपर्ने बताए।

महामन्त्री थापाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा दलहरूबीच सहमति बन्नु राम्रो विषय भएको बताए। प्रतिनिधि सभामा यो विधेयकलाई सरकारले छिट्टै पेस गर्ने विश्वास उनको छ।

सबैको चित्त बुझाएर संविधान संशोधन गर्नुपर्ने महामन्त्री थापा बताउँछन्।

‘संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व अझै थप सुदृढ हुने गरिकन संविधान संशोधन गरेमा यसभित्र देखिएका जटिलताहरू हल हुनेछन्,’ उनले भने।

भ्रष्टाचार नियन्त्रण गर्ने, सुशासन दिने, सेवा प्रवाह र विकासलाई अर्को चरणमा पुर्‍याउने सरकारको उद्घोषमा सफलता प्राप्त गर्नुपर्ने पनि उनले बताए। 

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट