सुदूरपश्चिमबाटै हेपिए प्रचण्ड !

सुदूरपश्चिमबाटै हेपिए प्रचण्ड !
प्रकाशित : :

धनगढी: सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र संसदीय दलभित्रको विवाद जटिल मोडमा पुगेको छ । माओवादी केन्द्रको भदौ १२ र १३ गते धनगढीमा बसेको केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको परामर्श बैठकमा सुदूरपश्चिम संसदीय दलभित्रको विवादले प्रमुख स्थान पायो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि संसदीय दलको नेतामा खगराज भट्टलाई तोक्ने गरी निर्देशन दिइएको एकथरी नेताको बुझाइ थियो । तर अर्कोथरी नेताहरूले पार्टी अध्यक्ष प्रचण्डले दलको नेता परिवर्तनबारे कुनै निर्देशन नदिएको जिकिर गरेका छन् ।

परामर्श बैठकमा माओवादीका सांसद शिवसिंह ओली लगायतले यसअघिको केन्द्रको निर्देशन पनि प्रदेशमा कार्यान्वयन नभएको भन्दै टिप्पणी गरेका थिए । सुदूरपश्चिम संसदीय दलका नेता मानबहादुर धामीले आफू प्रक्रिया पूरा गरेर दलको नेता बनेको बताएका थिए । गत असार १२ गते अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेता खगराज भट्टलाई बनाउनु भन्दै लिखित निर्देशन दिएका थिए ।

तर सो निर्देशन पालना नभएपछि हालैको बैठकमा पनि सो विषयले प्राथमिकता पायो । खगराज भट्टलाई गत माघ २२ गते बहुमतको आधारमा संसदीय दलको नेताबाट हटाउँदै मानबहादुर धामीलाई दलको नेता बनाउने निर्णय गरियो । भट्टले आफूमाथि अन्याय भएको भन्दै कडा आपत्ति जनाएका थिए । त्यो बेला सभामुख बाहेकका १० सांसदमध्ये भट्टको पक्षमा ४ जना सांसद थिए भने धामीको पक्षमा ६ सांसद थिए ।

धामीको पक्षमा रहेका शिव ओली अहिले भट्टको पक्षमा उभिएपछि संसदीय दलभित्र दुवै समूहमा ५–५ जना पुगेका छन् । अहिले भट्टको पक्षमा ओलीसहित, झपट साउद, रमेश सिंह धामी, जानकी पौडेल कुँवर छन् भने धामीको पक्षमा अक्कल रावल, ओमविक्रम भाट सरल, लक्ष्मी बिक र गीता माल छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले सुदूरपश्चिम प्रदेशमा गरेको लिखित सर्कुलर पनि दुई महिनासम्म अलपत्र परेको हो । हालैको बैठकको क्रममा प्रचण्डले दिएको निर्देशन पनि निष्प्रभावी हुने देखिएको छ । धामी पक्षका मानिने संसदीय दलका उपनेता अक्कल रावलले अध्यक्ष प्रचण्डको निर्देशन भट्टलाई नै संसदीय दलको नेता बनाउनमा जोड रहे भए पनि नेतृत्वको निर्देशनभन्दा संसदीय दलको विधान प्रधान हुने तर्क गर्छन् ।

उनले भने, ‘पार्टी विधि, विधान र नीति अनुसार चल्नुपर्छ भन्ने हाम्रो भनाइ हो । मुख्य प्रश्न के हो भने, हामी पार्टी नेतृत्वको निर्देशन अनुसार चल्ने कि, विधान अनुसार चल्ने भन्ने प्रश्न हाम्रो अगाडि छ । केन्द्रको निर्देशनलाई सम्मान गर्दै संसदीय दलको विधान अनुसार अगाडि बढिन्छ ।’ माओवादीका केन्द्रीय सदस्य कृष्ण कुमार चौधरीले पार्टी नेतृत्वले खगराजलाई दलको नेता बनाउन कडा निर्देशन दिएको बताउँदै कार्यान्वयन हुनेमा आशावादी रहेको बताए ।

तर खगराजकै कारणले पनि निर्देशन कार्यान्वयनमा समस्या देखिएको बताउँदै उनले खगराजले संसदीय दलभित्र समन्वयकारी भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गरे । केन्द्रीय सदस्य चौधरीले भने, ‘नेतृत्वको निर्देशन एकातिर छ । दलको विधान पनि छ । सबै समाधान नेतृत्वबाटै हुन्छ भन्ने भ्रम नराखेको भए राम्रो हुन्थ्यो । यसको लागि सम्बन्धित पक्षले पहलकदमी लिन पनि जरुरी छ ।’ -साभार

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार