सुदूरपश्चिम महोत्सव २०८१ : व्यापार, कला र मनोरञ्जनको उमङ्गपूर्ण संगम

मनोरञ्जन र व्यवसायको संगम सुदूरपश्चिम महोत्सव २०८१ को तयारी अन्तिम चरणमा
प्रकाशित : :

धनगढी : सुदूरपश्चिमको सांस्कृतिक र व्यावसायिक पहिचानलाई थप उजागर गर्ने उद्देश्यले कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको सुदूरपश्चिम महोत्सव २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ। संघका अध्यक्ष पुष्पराज कुँवरका अनुसार यही मङ्सिर २२ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुने महोत्सवकाे तयारी अन्तिम चरणमा छ।

महोत्सवमा ५०० व्यावसायिक स्टल, स्थानीय र राष्ट्रिय कलाकारको साङ्गीतिक तथा नृत्य प्रस्तुति, र स्थानीय परिकार र उत्पादनहरूको स्वाद उपलब्ध गराइनेछ । दर्शकहरूको मनोरञ्जनका लागि विशेष क्षेत्र छुट्टाइएको छ, जसले सबै उमेर समूहका आगन्तुकलाई आकर्षित गर्ने अपेक्षा आयोजकको छ ।

सुदूरपश्चिम महोत्सव २०८१ ले स्थानीय उत्पादन, सांस्कृतिक महत्त्व, र क्षेत्रीय पर्यटन प्रवर्द्धन गर्न ठुलो भूमिका खेल्ने विश्वास गरिएको छ। “महोत्सव केवल मनोरञ्जनको माध्यम मात्र नभई सुदूरपश्चिमको आर्थिक विकास र सांस्कृतिक पहिचानको प्रवर्द्धन गर्ने महत्त्वपूर्ण अवसर हो,” अध्यक्ष कुँवरले बताए।

अध्यक्ष पुष्पराज कुँवरका अनुसार “समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि” भन्ने मूल नाराका साथ वि.सं. २०६३ देखि आयोजना हुँदै आएको सुदूरपश्चिम महोत्सवमा प्रत्येक संस्करणको उद्घाटनका अवसरमा सरकार प्रमुखलाई २१ बुँदे माग पत्र प्रस्तुत गर्ने गरिन्छ। तीमध्ये केही माग पूरा भइसकेका छन् भने अझै १० देखि ११ वटा मागहरू बाँकी रहेका छन्।

यस पटक महोत्सवको प्रमुख माग धनगढीमा महोत्सव तथा अन्य कार्यक्रमहरू गर्न उपयुक्त प्रदर्शनी स्थल सरकारले छुट्टाउनुपर्ने रहेको कुँवरले बताए।

महोत्सवको सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिइएको छ । कैलाली उद्योग वाणिज्य संघका कार्यकारी सदस्य एवं सुदूरपश्चिम महोत्सव २०८१ का सुरक्षा संयोजक प्रकाश कुमार चन्दका अनुसार महोत्सव परिसरमा उच्च सुरक्षा व्यवस्था गरिनुका साथै दर्शकहरूको सुविधाका लागि व्यवस्थापन टोलीले विशेष तयारी गरेको छ।

यस पटकको सुदूरपश्चिम महोत्सव २०८१ मा “बबल्स अन्डर वाटर फिस टनेल” मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिने भएको छ। महोत्सवको इतिहासमै पहिलो पटक दर्शकहरूले समुद्रभित्रको वातावरण र पानीमुनि माछाहरूको संसार नजिकबाट अवलोकन गर्ने अवसर पाउनेछन्।

टनेल व्यवस्थापक विनोद कालिकोटेका अनुसार यो प्रदर्शनीले सुदूरपश्चिममा पहिलो पटक विदेशमा समुद्रको किनारमा निर्माण गरिएका टनेलहरू को अनुभव सानो अंसका रूपमा नौलो अनुभूति गराउनेछ। अहिले प्रदर्शनका लागि बबल्स अन्डर वाटर फिस टनेललाई विशेष रूपमा सजाउने काम जारी छ ।

यस वर्षको महोत्सवमा सहभागीहरू को साथले व्यापार, कला, र मनोरञ्जनको नौलो रङ्ग र उमङ्ग सहितको अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट