काठमाडौं : एनपीएलमा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित हासिल गरेको छ । शनिबार भएको खेलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको हो । लुम्बिनीको भने यो लगातार तेस्रो हार हो ।
सुदूरपश्चिमको घातक बलिङसामू लुम्बिनीको जवाफी ब्याटिङ चल्न सकेन । सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको लुम्बिनीले पुरै ओभर खेलेर ९ विकेट गुमाउँदै १४२ रन मात्र बनायो ।
लुम्बिनीका लागि सातौँ नम्बरमा आएका विवेक यादवले विस्फोटक ब्याटिङ गर्दै अर्धशतकीय पारी खेले । उनले ५२ बलमा ७७ रन जोडे । जसक्रममा उनले ३ चौका र ७ छक्का प्रहार गरे । तर, हार टरेन ।
सन्दीप जोराले २० र दिनेश अधिकारीले १४ रन बनाए । पहिलो ओभरको पहिलो बलमा अर्जुन साउद शून्य र अन्तिम बलमा उन्मुक्त चन्द ४ रनमा आउट भएका थिए ।
१.५ ओभरमा कप्तान रोहितकुमार पौडेल ५ रनमा आउट भए । ३.२ ओभरमा टम मुर्स ७ रनमा आउट भए । ३.३ ओभरमा साद बिन जफर शून्यमा आउट भए । रामोन सिमन्ड्स पनि शून्यमा आउट भए ।
लुम्बिनी लायन्सका लागि ब्राण्डन म्याकमुलन र सैफ जैब ३/३ तथा स्कट कुग्गेलिजनले २ र अविनाश बोहराले १ विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा १८७ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि ओपनरका सैफ जैबले सर्वाधिक ९० रनको योगदान गरे । उनले ६१ बलमा अर्धशतक ६ चौका र ५ छक्का प्रहार गरे । एनपीएलमा यो उनको पहिलो अर्धशतक हो । यसअघि उनले काठमाडौं गुर्खाजविरुद्ध ११ र विराटनगर किंग्सविरुद्ध १४ रन बनाएका थिए ।
कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ३९ रन बनाए । ब्राण्डन म्याकमुलनले २३ रन बनाउँदा विनाद भण्डारीले १७ रनको योगदान गरे । आरिफ शेख भने शून्य रनमा आउट भए ।
लुम्बिनीका लागि भने रामोन सिमन्ड्सले २ तथा कप्तान रोहितकुमार पौडेल र विवेक यादवले १–१ विकेट लिए ।
अब अर्को खेलमा विराटनगर किंङ्स र कर्णाली याक्स आमने सामने हुनेछन् ।