पोर्चुगलका स्टार फुटबलर तथा साउदी अरबको क्लब अल-नासरका कप्तान क्रिस्टियानो रोनाल्डोले भविष्यमा आफू प्रशिक्षक नभई क्लबको अध्यक्ष बन्ने योजना बनाएको खुलासा गरेका छन्। दुबईमा सम्पन्न ग्लोब सकर अवार्ड–२०२४ को समारोहमा सम्बोधन गर्दै रोनाल्डोले आफूमा प्रशिक्षक बन्ने रुचि कहिल्यै नभएको बताए।
“म प्रशिक्षक हुने छैन। म अध्यक्ष बन्न चाहन्छु। सम्भव छ, कुनै क्लबको मालिक पनि बनूँ,” रोनाल्डोले भने।
व्यावसायिक फुटबलबाट सन्न्यासपछि क्लब खरिद गर्ने योजना सुनाउँदै रोनाल्डोले प्रिमियर लिगलाई विश्वकै प्रतिस्पर्धी लिगको रूपमा चित्रित गरे। उनले आफ्नो पोर्चुगल क्लब स्पोर्टिङ लिस्बनका प्रशिक्षक रुबेन अमोरिमको कामको प्रशंसा गर्दै भने, “रुबेनले लिस्बनमा उत्कृष्ट काम गरे। तर, प्रिमियर लिगको स्तर फरक छ। यो संसारको सबैभन्दा प्रतिस्पर्धी लिग हो।”
रोनाल्डोले म्यानचेस्टर युनाइटेडप्रतिको आफ्नो माया प्रकट गर्दै क्लबका हालका समस्या प्रशिक्षकसँग मात्र सीमित नरहेको धारणा राखे। “म म्यानचेस्टर युनाइटेडलाई मन पराउँछु। उनीहरूको सफलताको कामना गर्छु। तर, त्यहाँ समस्या प्रशिक्षकको होइन, कुनै अन्य पक्षमा छ,” उनले भने।
साउदी प्रो लिगको गुणस्तरबारे पनि आफ्नो धारणा राख्दै रोनाल्डोले यसलाई फ्रान्सको लिग वानभन्दा उत्कृष्ट बताएका छन्।
ग्लोब सकर अवार्ड–२०२४ मा रोनाल्डो उत्कृष्ट मध्यपूर्व खेलाडी र सर्वाधिक गोलकर्ताको अवार्ड जित्दै आफ्नो क्षमता पुनः प्रमाणित गरे।