धनगढी : फ्रेन्चाइज फुटबल क्लब धनगढी एफसीले शनिबारबाट सुरु हुने एनसेल नेपाल सुपर लिग तेस्रो सिजन, २०२५ का लागि आधिकारिक जर्सी र क्लबगान सार्वजनिक गरेको छ । शुक्रबार राजधानीमा प्रेस सम्मेलन गर्दै धनगढी एफसी र क्लबको यस सिजनको मुख्य प्रायोजक माई सेकेन्ड टिचरले संयुक्त रूपमा जर्सी र क्लबगान सार्वजनिक गरेका हुन् ।
जर्सी सार्वजनिक कार्यक्रममा बोल्दै धनगढी एफसीका अध्यक्ष सुवास शाहीले क्लबको नयाँ जर्सी र क्लब गान धनगढी एफसीको लक्ष्य, उत्साह र आत्मबललाई प्रतिबिम्बित गरेको बताउनुभयो । यसले क्लबका समर्थकहरूलाई अझ नजिक ल्याउने र टिमलाई उत्प्रेरित गर्ने विश्वास अध्यक्ष शाहीको थियो । यसका साथै उहाँले प्रतियोगिताका लागि तयारी पूरा भएको जानकारी दिँदै उपाधि जित्ने क्लबको प्रमुख लक्ष्य रहेको बताउनुभयो ।
कार्यक्रममा माई सेकेन्ड टिचर नेपालकी प्रमुख मेधा भट्टराईले शिक्षा र खेलकुदका साझा मान्यताहरूलाई आत्मसात गर्दै यी दुबैको माध्यमबाट नयाँ पुस्तालाई सशक्त बनाउने आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो । “फुटबल र शिक्षा दुबैले अनुशासन, दृढता र उत्कृष्ट हुने चाहनालाई प्रतिबिम्बित गर्छन्” भट्टराईले भन्नुभयो । “हामी धनगढी एफसीसँग सहकार्य गर्दै आगामी दिनमा शिक्षा र खेलकुदलाई सँगै अघि बढाउन प्रतिबद्ध छौँ ।”
फ्रेन्चाइज फुटबल प्रतियोगिता एनसेल नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजन यही चैत १६ देखि वैशाख १३ सम्म चल्ने छ । प्रतियोगितामा सातवटा फ्रेन्चाइज टोलीहरू सहभागी हुँदै छन् ।
माई सेकेन्ड टिचरका बारेमा:
माई सेकेन्ड टिचर नेपालको शिक्षा क्षेत्रमा रूपान्तरण ल्याउने उद्देश्यले काम गरिरहेको अनलाइन शिक्षण तथा सिकाइसम्बन्धी प्लेटफर्म हो । माई सेकेन्ड टिचर नेपालमा विभिन्न विषयका समसामयिक अवधारणा, पाठ्यक्रमका विषयवस्तु र दैनिक जीवनका अनुभवहरूलाई शिक्षण पद्धतिसँग जोड्ने शिक्षक विद्यार्थीको रोचक संवादमा आधारित अन्तर्क्रियाात्मक भिडियो, ई-बुक लगायतका सिकाइ सामग्रीहरू, प्रत्येक विद्यार्थीको सही मूल्यांकन गर्न आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी बनाइएको डायग्नोस्टिक रिपोर्ट, जुनसुकै समयमा आफ्नो क्षमता परीक्षण गर्न मिल्ने टेस्ट पेपर जस्ता थुप्रै विशेषताहरू रहेका छन् ।
नेपालमै नेपालीले बनाएको यो प्लेटफर्म विश्वका ५१ देशका ९ हजारभन्दा बढी विद्यालयका लाखौँ विद्यार्थी, शिक्षक तथा अभिभावकहरूले प्रयोग गर्दै आएका छन् । त्यस्तै यो प्लेटफर्म नेपालका १०० बढी संस्थागत र सार्वजनिक विद्यालयका हजारौँ विद्यार्थीहरूले प्रयोग गर्दै आएका छन् । शिक्षालाई प्रविधिसँग जोड्दै आएको यस प्लेटफर्मले ७ वटा ग्लोबल अवार्डहरू पनि जितिसकेको छ ।

धनगढी एफसी टोली:
गोलकिपर : वालिड इसाफी, सन्तोष महत, जियारत शेख
डिफेन्डर : अशोक खबास, देवेन्द्र तामाङ (कप्तान), अमृत श्रेष्ठ, रन्दीप पौडेल, पासाङ लामा, जर्ज काइसेडो (स्पेन)
मिडफिल्ड : रामचन्द्र वाजी, विवेक पौडेल, मोहम्मद इल जाउएनी (मोरोक्को), प्रशान्त लक्क्षम लिम्बु, कीर्तिसरत्न छुन्जु (मार्की), हरिश राज भट्ट, रोहन खड्गी, सन्दीप धामी,
स्ट्राइकर : अहमद हिजाजी (लेबनन), जर्जप्रिन्स कार्की, अफिज ओलावाले (नाइजेरिया), दीपेश राई, सर्जियो बार्बोजा (ब्राजिल)
ब्याकरुम स्टाफ
मख्य प्रशिक्षक : हुँवा म्यानुएल मार्टिनेज (स्पेन)
सहायक प्रशिक्षक : भिष्म भाट
गोलकिपिङ प्रशिक्षक : महेश श्रेष्ठ
फिजियो : गौरव श्रेष्ठ
सहायक फिजियो : रोशन थापामगर
टेक्निकल डाइरेक्टर : भोलानाथ रिजाल
पासाङ मोक्तान : किट म्यानेजर
म्यानेजर : रविन श्रेष्ठ
सहयाक म्यानेजर : डेनचेन धोङ लामा