धनगढी: “स्कुलमा हामी विज्ञान पढ्छौं, तर यौन स्वास्थयबारे कुरा गर्दा शिक्षक नै लाज मान्नुहुन्छ“, डडेल्धुराकी १७ वर्षीया अनु (नाम परिवर्तन) भन्छिन् । उनी डडेल्धुराको एक सामुदायिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छिन् । अनुजस्तै धेरै किशोर किशोरीहरु अझै पनि आफ्ना यौन तथा प्रजनन सम्बन्धी जिज्ञासा, डर र समस्यासँग एक्लै जुधिरहेका छन् ।
किशोर अवस्थाबाट युवावस्थामा प्रवेश गर्ने क्रममा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी अत्यावश्यक हुन्छ । तर समाजमा यो विषय अझै पनि वर्जितजस्तै देखिन्छ । “हामी साथीभाइबीच कुरा गर्छौं, तर धेरै कुरा झुटो वा अपूरो जानकारीमा भरिन्छ“, डडेल्धुराकै १८ वर्षीय रमेश ऐर बताउँछन् । उनले केही समयअघि यौन संक्रमणको डरले मानसिक तनाव भोगे, तर कसैलाई भन्न सक्ने वातावरण थिएन ।
- स्वास्थ्य सेवा पहुँचमा असमानता
दुर्गम गाउँका युवाहरुका लागि यौन र प्रजनन स्वास्थ्यसम्बन्धी सेवा पहुँच नहुने समस्या अझ गम्भीर छ । बाजुराबाट धनगढीं पढ्न आएका १९ वर्षीय एक किशोरको भनाइ अनुसार, “हाम्रो गाउँमा हेल्थ पोस्ट त छ, तर यस्तो कुरा गर्न अप्ठ्यारो लाग्छ, कर्मचारी नै बाबुआमाको उमेरका हुन्छन् ।“ यस्तो अवस्था हुँदा युवाहरु निजी क्लिनिक जाने कि इन्टरनेटमा खोज्ने विकल्पमा अल्झिन्छन् ।
- धेरैलाई थाहा छैन – ’मेरो अधिकार के हो?’
नेपालको संविधानले यौन तथा प्रजनन स्वास्थ्यलाई मौलिक अधिकारको रुपमा प्रत्याभूत गरेको छ। तर व्यवहारमा, यो अधिकारबारे धेरै युवालाई जानकारी छैन । “हामीलाई थाहा छैन, हामीले के माग गर्न पाउँछौं“, उनि भन्छिन् । उनीजस्ता धेरै किशोरीहरु महिनावारीको समयमा विद्यालय छुटाउनु, सरसफाइको अभाव, वा बाझोपनको डरले नियमित तनावमा बस्न बाध्य छन् ।
- धेरै बोल्न खोज्छन्, सुनिदिने कोही छैन
यौन शिक्षा, परामर्श सेवा, गोपनीयता, सुरक्षित स्वास्थ्य सेवा जस्ता आधारभूत कुराहरु आज पनि धेरै किशोर किशोरीका लागि दुर्गम सपना हुन् । युवा अभियन्ता मेनका ओड भन्छिन्,
“युवाहरु बोल्न थालेका छन्, तर राज्य र समाजले सुन्न अझै तयार छैन ।“ पहिला किशोर किशोरीहरु यौन र प्रजनन स्वास्थ्य बारे बोल्नै चाहान्थेनन् उनि भन्छिन् “हामीले भोलेन्टियर भएर याड नेपाल र परिवार नियोजनको सहकार्यमा धेरै कार्यक्रम सञ्चालन गरेका थियौँ, धनगढीका बिभिन्न बिद्यालय देखी पहाडी जिल्लामा समेत यस्ता कार्यक्रम सञ्चालन गरेका थियौँ, जसका कारण किशोर किशोरीहरु यौन र प्रजनन स्वास्थ्य सम्बन्धी केही सकारात्मक प्रभाव परेको छ, ग्रामिण भेगको तुलनामा सहरी क्षेत्रमा निकै सुधार देखिन्छ ।”
बिभिन्न सघं संस्थाहरुले किशोर किशोरीहरु यौन र प्रजनन स्वास्थ्य सम्बन्धी बिभिन्न कार्यक्रम सञ्चालन गरेका कारण सकारात्मक प्रभाव परेको उनि बताउछिन् । सहर तिरका किशोर किशोरीहरु किशोर किशोरीहरु यौन र प्रजनन स्वास्थ्य सम्बन्धी खुलेर समस्या राख्न थालेका छन्, तर ग्रामिण भेगमा अझैँ शिक्षाको अभाव छ उनले भनिन् “ किशोर किशोरीहरु यौन र प्रजनन स्वास्थ्यलाई अभियानका रुपमा राज्यले सञ्चालन गर्नुपर्छ, बिकास भौतिक मात्रै नभएर मानविय आवश्वक छ, यसमा प्रदेश र स्थानिय सरकारले छुट्टै ऐन निर्माण गरे मात्रै परिवर्तन सम्भव हुन्छ होला ।”
विद्यालयमा समावेशी यौन शिक्षाको प्रभावकारी कार्यान्वयन, किशोर मैत्री स्वास्थ्य सेवा केन्द्रहरुको सुदृढीकरण, समुदाय स्तरमा अभिभावक र शिक्षकलाई समेत सचेत बनाउने कार्यक्रम, गोपनीयता सुनिश्चित गर्ने वातावरण लगायत कार्यक्रम सञ्चालन भए किशोर किशोरीहरु यौन र प्रजनन स्वास्थ्य सुधार हुने ओडको भनाई छ ।
युवाहरुका यौन तथा प्रजनन अधिकारबारे छलफल गर्न लाज होइन, चेतनाको आवश्यकता छ । उनीहरुले सुरक्षित, सम्मानजनक र जानकारीमूलक सेवा पाउने वातावरण बनाउन राज्य, विद्यालय, अभिभावक र स्वयं युवाको सक्रियतामा भर पर्छ ।
किशोर किशोरी तथा युवाहरुले सुरक्षित, सम्मानजनक र जानकारीमूलक यौन तथा प्रजनन स्वास्थ्य सेवा प्राप्त गर्न पाउने अधिकार सुनिश्चित गर्न सबै नागरिकले सहयोग गर्नुपर्छ । परिवार, विद्यालय र समाजले खुला संवाद, वैज्ञानिक शिक्षा र बिना भेदभाव सेवा प्रदान गर्ने वातावरण बनाउन अग्रसर हुनुपर्छ ।





