धनगढी : धनगढी उपमहानगरपालिका–५ नं. वडा कार्यालयले ‘हरियो वडा अभियान’ सुरु गरेको छ। अभियानको औपचारिक सुरुवातको जानकारी गराउँदै शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रम सार्वजनिक गरिएको हो।
वडा अध्यक्ष गजेन्द्र शाहीका अनुसार अभियान अन्तर्गत यही साउन ३१ गते एकैदिन १५ हजार बिरुवा रोपिने लक्ष्य लिइएको छ।
सो कार्यक्रमको प्रमुख आतिथ्य परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गर्ने तय भएको छ। मन्त्री देउवाले वृक्षारोपण कार्यक्रममा सक्रिय सहभागिता जनाउने पनि अध्यक्ष शाहीले जानकारी दिए।
अभियानलाई प्रभावकारी बनाउन वडा कार्यालयले प्रत्येक घरधुरीलाई दुईवटा बिरुवा वितरण गर्नेछ। तीमध्ये एक सजिवन (मोरङ्गा) र अर्को उन्नत जातको आँपको बिरुवा हुनेछ।
अध्यक्ष शाहीले ‘हरियो वडा अभियान’ मार्फत वातावरण संरक्षणका साथै वडा क्षेत्रलाई हराभरा बनाउने लक्ष्य लिएको बताए। उनले जनस्तरको सहकार्यले अभियानलाई दीगो बनाउने अपेक्षा व्यक्त गरे।





