रुपन्देही क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवदार बनेका डा. लेखजंग थापाले आफूमाथि लागेको आरोपबारे स्पष्टीकरण दिएका छन् ।
उनलाई प्राइमरी इलेक्सनमार्फत् रास्वपाले रुपन्देही–३ बाट उम्मेदवार बनाएपछि उनीमाथि अनेकन प्रश्न उठेका थिए ।
त्यसमध्ये उनीमाथि बहुविवाह गरेको भन्दै प्रश्न उठाइएको थियो । उनले नै यसअघि सामाजिक सञ्जालमा राखेका दुवै श्रीमतीको तस्बिरहरु सामाजिक सञ्जालदेखि आम सञ्चारमाध्ययमसम्म ल्याएर आलोचना भएपछि थापाले त्यसबारे स्पष्टीकरण दिएका हुन् । साथै पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेदपछि अर्को विवाह गरेको र पहिलो श्रीमतीसँग पनि राम्रो सम्बन्ध रहेको बताएका छन् ।
खासगरी उनीमाथि सम्बन्ध विच्छेद नै नगरी अर्को विवाह गरेको आरोप समेत लागेको थियो । तर उनले २०७९ साल माघ १५ गते नै जिल्ला अदालत रुपन्देहीबाट सम्बन्ध विच्छेद गरेको प्रमाण पेस गरेका छन् । साथै आफूले पहिलो श्रीमतीबाट जन्मिएको सन्तानलाई अभिभावकत्व दिनका लागि आफूहरु मिलेको समेत खुलाएका छन् ।
‘न्युरोचिकित्सकका रुपमा १४ वर्ष लामो मेरो यात्रामा मैले हजारौँ बालबालिकाहरूलाई नजिकबाट नियालेको छु र एउटा परिवार बिग्रँदा उनीहरूको सुसुप्त बाल मनोविज्ञानमा पर्ने असर महसुस गरेको छु। यसका आधारमा पारिवारिक सम्बन्धको असर बच्चामा पर्नु हुँदैन भन्ने कुरामा म सचेत छु,’ उनले लेखेका छन् ।
सन्तानको भविष्यका लागि उसलाई जन्म दिने आमासँग मिलेर साझा अभिभावकत्व दिनका लागि यदि मेरो सम्बन्ध सौहाद्रपूर्ण छ र त्यो यदि मेरो गल्ती हो भने मलाई त्यसमा ग्लानी छैन। सम्बन्धविच्छेद भन्ने बित्तिकै के एकअर्कालाई गाली गर्नैपर्ने हो, के अर्काको अस्तित्व स्वीकार्न नहुने हो, के एकअर्कासँग भेट्नै नहुने हो वा उसँग मित्रभाव राख्नै नहुने होरु यदि मेरो छोराले उसको बाबाको सम्बन्ध आमासँग सुमुधर होस् भन्ने चाहन्छ भने ऊ नाबालिग हुँदासम्म मात्र होइन म बाचुन्जेल सम्बन्धको त्यो पक्ष दरिलो बनाउन चाहन्छु। त्यसमा मलाई कसैको अनुमति लिनु पर्दैन ।’
त्यस्तै उनीमाथि लागेको अर्को आरोप भनेको गत निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी ९नाउपा० को समानुपातिक सूचीमा रहेको भन्ने छ । उनलाई पदका लागि जुनसुकै पार्टीमा समेत जान तयार हुने भन्दै आलोचना भइरहेको छ । उनले देश निर्माण गर्ने हुटहुटीले अन्य पार्टीमा लागे पनि त्यसको सबै यात्रा टुंगो लगाएर रास्वपाको साधारण सदस्य बन्न आएको बताएका छन् ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरू, मेरो व्यावसायिक र सामाजिक जीवन खुला किताबझैँ सार्वजनिक छ। पेशागत सफलताले पूर्ण सन्तुष्ट भएपनि नागरिकका रुपमा म देशमा झाङ्गिँदै गएको विकृतिबाट असन्तुष्ट भएर राजनीतिमा आएको हुँ। देश निर्माणमा योगदान दिन सक्छु भनेर कुनै कालखण्डमा एउटा पार्टीसँगको मेरो आबद्धतालाई कानुनी विधि अनुशरण गरी टुङ्ग्याएर राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्य बनेको हुँ। मेरो यात्रा औसत राजनीतिभन्दा माथि रूपान्तरणकारी परिवर्तनका लागि हो। विराट लक्ष्य लिएर हिँडेको व्यक्ति यस्ता कुनै खाले आक्रमणबाट डराउनु हुँदैन , तर मेरो व्यक्तिगत कारणले पार्टीमाथि सानो दाग पनि लागोस् भन्ने म किन्चित चाहन्न,’ उनले भनेका छन् ।





