एमाले विधान महाधिवेशनमा प्रतिनिधिहरू निरीह, खुल्यो ओलीको बाटो, विद्याको खतरा टर्‍यो

एमाले विधान महाधिवेशनमा प्रतिनिधिहरू निरीह, खुल्यो ओलीको बाटो, विद्याको खतरा टर्‍यो
प्रकाशित : :

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा सम्पन्न हुँदै अध्यक्ष केपी शर्मा ओलीलाई तेस्रोपटक नेतृत्व गर्ने बाटो खुलाइएको छ।

पार्टी विधानको धारा–६४ अनुसार ७० वर्ष नाघेका वा दुई कार्यकालभन्दा बढी एउटै पदमा बस्न नपाइने व्यवस्था थियो। तर उपाध्यक्ष विष्णु पौडेलले ल्याएको प्रस्ताव सर्वसम्मतिले पारित भएपछि यो धारा हटाइयो। यससँगै ७४ वर्षीय ओलीलाई पुनः अध्यक्ष बन्ने बाटो खुलेको छ।

पौडेलले ओलीकै नेतृत्वमा आगामी निर्वाचनमा बहुमत ल्याउन सकिने तर्क गरे। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार प्रतिनिधिहरूले कुनै विमति नराखी मिसन–२०८४ सफल पार्ने प्रतिबद्धता जनाएका छन्।

यसअघि नै दुई कार्यकालको सीमा हटाइसकेको एमालेले केही समयअघि उमेर सीमा पनि निलम्बन गर्ने निर्णय गरेको थियो। तर वरिष्ठ नेता ईश्वर पोखरेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र योगेश भट्टराईलगायत नेताहरूले धारा कायम राख्नुपर्ने अडान लिएका थिए।

यता, पूर्वराष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा फर्कन सक्ने चर्चा चले पनि उनको पार्टी सदस्यता नवीकरणबारे महाधिवेशनले निर्णय गरेन। ओलीले भने भण्डारीलाई अध्यक्ष बन्न नदिने अडान दोहोर्याउँदै सदस्यता भुलवश नवीकरण भएको भन्दै खारेज भएको स्पष्ट पारे।

भण्डारी पक्षले निर्णय उल्ट्याउने प्रयास गरे पनि बहुमत नभएकाले सफल भएन। ओली पक्षसँग स्पष्ट बहुमत भएकाले विधान संशोधन लगायतका प्रस्तावहरू सर्वसम्मतिले पारित भए।

महाधिवेशन शान्तिपूर्ण ढंगले सम्पन्न भए पनि ओली–भण्डारीबीचको शक्ति संघर्ष भने कायम रहने देखिन्छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट